प्रचण्ड सरकारकै निरन्तरताको पक्षमा उभियो एकीकृत समाजवादी-Sutra News

प्रचण्ड सरकारकै निरन्तरताको पक्षमा उभियो एकीकृत समाजवादी

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सत्ता समीकरणको पक्षमा उभिएको छ । बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँगको प्रश्नोत्तरमा पार्टी अध्यक्ष माधवकुमार नेपालले तत्काल विकल्पमा नजाने निर्णय भएको बताएका हुन् ।



“हामी वाम शक्तिबीच एकताको पक्षमा छौं, समाजवादीबीच एकता गर्नुपर्छ भन्ने पक्षमा छौं, हामी फुट र विभाजनको पक्षमा छैनौ”, अध्यक्ष नेपालले भनेका छन्, “हामी यो सत्ता समीकरणकै पक्षमा छौं, यसमा तलमाथि गर्ने विषय सोंचेका छैनौ ।”

एकीकृत समाजवादीले समाजवादी मोर्चाको विषयमा भने पुनर्विचार गर्ने अवस्था आएको बताएको छ । जसबारे छिट्टै छलफल गरिने अध्यक्ष नेपालले बताए ।

“समाजवादी मोर्चाको एउटा घटक विभाजित बनेको छ, यसका गतिविधि पनि शून्य जस्तै छ”, उनले भनेका छन्, “हामी यसबारे छलफल गर्नुपर्छ भन्नेमा छौं, अहिले विप्लव जीको नेतृत्वमा मोर्चा छ, हामी छिट्टै छलफल गरेर के गर्ने भन्ने निर्णय लिन्छौं ।”

एमाले–माओवादी नेतृत्वको सत्ता समीकरणमै रहेको बताएको एकीकृत समाजवादीले मधेश सरकारमा भने उपेन्द्र यादव नेतृत्वको जसपा नेपालकै पक्षमा आफूलाई उभ्याएको छ । जसबारे सबैसँग छलफल गरेर मात्रै निर्णय गर्ने अध्यक्ष नेपालले बताए ।

“विगतदेखि उपेन्द्रजीसँग सहकार्य गर्दै आएका थियौं, हामी अहिले पनि मधेश सरकारमै छौं, तर घटना परिवर्तन भएसँगै हामी सोचनीय अवस्थामै छौं”, अध्यक्ष नेपालले भनेका छन्, “वर्तमान सरकारबाट बाहिरिइसकेका छैनौ । हामी जसपा नेपालबाट बनेको जसपाका नेताहरुसँग छलफल गर्न पाएका छैनौ । हामी सबैसँग छलफलपछि निर्णय लिन्छौं ।”

सुदूरपश्चिम प्रदेश सरकारमा आफ्ना मुख्यमन्त्री दीर्घ सोडारीलाई एमालेले सहयोग नगर्ने बताएसँगै एकीकृत समाजवादीले आफू पनि सत्ता समीकरणबाट बाहिरिन सक्ने बताएको थियो । सँगै जसपा नेपालको विभाजनलाई देखाएर सरकारको विरोध गरेको थियो ।

तर, केन्द्रीय समिति बैठकबाट भने एकीकृत समाजवादीले औपचारिकरुपमै वर्तमान सत्ता समीकरणको पक्षमा आफूलाई उभ्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट