सन्दीप लामिछानेले सफाई पाउँदा फिल्मकर्मी खुसी !-Sutra News

सन्दीप लामिछानेले सफाई पाउँदा फिल्मकर्मी खुसी !

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा बुधबार उच्च अदालत पाटनबाट सफाइ पाए । न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासबाट उनले सफाइ पाएका हुन् ।



गौशाला २६ माथि बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले गत पुसमा गरेको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पाटनमा पुनरावेदन गरेका थिए । जिल्ला अदालको फैसलाले दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय र पाँच लाख रुपैयाँ जरिवाना र क्षतिपूर्ति तय गरेको थियो ।

यसअघि मंगलबार नै न्यायाधीहरूले फैसला दिने गरी सामान्यतया अदालतको समयभन्दा बढी समय बहस गरेका थिए । तर, राति फैसला गर्दा गलत सन्देश जाने भएकाले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो । गौशाला २६ लाई बालिग ठहर गर्दै सहमतिमै करणी भएको भन्दै उच्च अदालतको सन्दीपको पक्षमा फैसला गरेको हो ।

फैसलामा भनिएको छ, ‘जन्म दर्तालगायतका विभिन्न कागजातअनुसार गौशाला २६ नाबालिग नभएको र सहमतिमै करणी भएको हुन आएको देखिन्छ, यसकारण सन्दीप दोषी नभएको ठहर्छ ।’

बुधबार उच्च अदालतले जिल्ला अदालको फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेपछि फिल्मकर्मीहरूले पनि खुसी व्यक्त गरेका छन् । सन्दीपले सफाई पाएपछि फिल्मकर्मीहरूले उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।

हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले सन्दीपको एक तस्बीर फेसबुकमा राख्दै बधाई दिएका हुन् । अभिनेता तथा निर्माता रमेश उप्रेतीले ‘अन्ततः सिंह फर्कियो’ भन्दै स्टाटस लेखेका छन् । अर्का कलाकार सन्दीप क्षेत्रीले फेसबुकमा ‘क्लिन एण्ड क्लियर’ भन्दै सन्दीपको जीतमा खुसी व्यक्त गरेका छन् । यस्तै, गायक तथा अभिनेता राजेशपायल राईले पनि उनलाई बधाई दिन भ्याए ।

यसैगरी, अभिनेता तथा निर्माता गजित विष्टले ‘यो देशमा न्याय मरेको छैन’ भन्दै सन्दीपलाई निर्दोष सावित भएकोमा बधाई दिँदै फेसबुकमा स्टाटस लेखेका छन् । कलाकार तथा निर्देशक शिवहरि पौडेल, महिला निर्देशक समुन्द्र भट्ट, गायक स्वरुपराज आचार्य, निर्देशक शिवम् अधिकारी, कलाकार तथा ट्रेलर मास्टर साहिल खानलगायतले पनि सन्दीप निर्दोष ठहर भएकोमा खुसी व्यक्त गरेका छन् ।

यसअघि गायिका रचना रिमालले सन्दीपको पक्षमा बोलेकी थिइन् । उनले सन्दीपको मुद्दा अदालतमा विचराधीन अवस्थामा रहँदा नै ‘दोषी भए कानूनअनुसार सजाय देउ-निर्दोष भए विश्वकप खेल्न देउ’ भनेकी थिइन् ।

यसअघि २०७९ भदौ ५, मा गौशला २६ ले बलात्कार गरेको आरोप लगाउँदै सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसबेला सन्दीप क्रिकेट खेल्न विदेशमा थिए ।

०७९ असोज २० गते स्वदेश फर्किएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । त्यसपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत, पाटनले पुस २९ मा सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट