सुटिङमा ‘घाइते’ कलाकार : राजेशले चार वटा दाँत फुस्काइदिए, निखिलको औँलै भाँचियो-Sutra News

सुटिङमा ‘घाइते’ कलाकार : राजेशले चार वटा दाँत फुस्काइदिए, निखिलको औँलै भाँचियो

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१

काठमाडौं। फिल्ममा फाइट र स्टन्टका दृश्य हेर्दा जति मनोरञ्जन हुन्छ, पर्दा पछाडी हुने यसको सुटिङ त्यति सहज हुँदैन । पर्दामा यि दृश्यहरु हेरेर दर्शक हलमा चिच्याउँछन्, ताली पिट्छन्, जीउमा काँडा उमार्छन् र भरपूर मनोरञ्जन लिन्छन् । तर, यसपछाडी फिल्मका हिरो, हिरोइन, स्टन्टम्यान र फाइटरहरुको कथा फरक छ । यसका लागि उनीहरुले ज्यान नै जोखिममा समेत राखेर काम गरेका हुनसक्छन् । सुटिङमा ‘राउन्ड किक’ खाएर कलाकारले दिउँसै तारा देखेका घटना पनि बग्रेल्ती छन् ।



बुधबार फिल्म ‘रावायण’को सुटिङका क्रममा अभिनेता पल शाह घाइते भएको खबर बाहिरियो । सर्लाहीको लालबन्दी जंगल क्षेत्रमा यो फिल्मको एक्सन दृश्यको छायांकन भइरहँदा आफ्नो हातमा चोट लागेको खबर पल स्वयम्ले बाहिर ल्याए । सुटिङमा घाइते भएर हातमा पट्टि बाँधेको तस्बिर पल स्वयम्ले फेसबुकमार्फत सार्वजनिक गरे ।

तस्बिरमा चोट देखेर सायद उनका प्रशंसकको मन च्वास्स बिझ्यो । तर धेरैलाई थाहा नहुन सक्छ, सुटिङमा दुर्घटना फिल्म क्षेत्रका लागि नौलो होइन । फिल्म छायांकन गर्दागर्दै चर्चित कलाकार राजेश हमालदेखि निखिल उप्रेतीसम्म दुर्घटनामा परेका छन् । यस्तो छ दुर्घटनामा घाइते भएका कलाकारका केही किस्सा :

राजेश हमाल : एक दशकअघिकै किस्सा हो । फिल्म ‘मैदान’ को ‘फाइट सिन’ छायांकन भइरहेको थियो । अभिनेता राजेश हमाल हातमा तरबार बोकेर गुण्डालाई प्रहार गर्न तम्तयार थिए । तर, अचानक त्यो तरबार बिँडबाट फुत्कियो र सिधैँ क्यामेराम्यानको अनुहारमा गएर लाग्यो । उनका चार वटा दाँत पूरै भाँचिए । ओठ पनि काटियो । हमाल ट्वा परे, हेरेको हेरै भए । हमालले आफ्नो अभिनय करिअरमा दिउँसै ‘तारा’ त कति देखे देखे । उनी स्वयम्सँग् त्यसको हिसाबकिताब छैन । तर, केही भने डरलाग्दा नै छन् । शोभित बस्नेतको ‘जंगबाज’ फिल्मको सुटिङमा पनि डरलाग्दै भएको थियो । त्यतिबेला उनको कानमै बन्दुक पड्केको थियो । पिस्टोल समातेर भिलेनलाई ताक्ने सिन थियो । त्यो नक्कली लोडेड बन्दुक थियो तर सक्कलीभन्दा बढी आवाज दिने रहेछ । धन्न हमालले कानमा दोबारेर बाँदरे टोपी लगाएका थिए । नत्र मेरो कानको जाली नै फाट्थ्यो होला हमाल त्यो किस्सा अहिले पनि फिल्मवृत्तमा सुनाउने गर्छन् । त्यतिबेला उनले देब्रे कानको मुन्द्रा लगाउने पाटातिर तीन टाँका लगाउनुपरेको थियो ।

रेखा थापा : यो फिल्म ‘जाऊँ हिँड पोखरा’को सुटिङमा भएको दुर्घटना हो । फिल्ममा अभिनेत्री रेखा थापा र अभिनेता जीवन लुइँटेलको अभिनय थियो । पर्दामा उडिउडि ‘किक’ हान्नु रेखाका लागि सामान्य नै मानिन्थ्यो । महिलाप्रधान भूमिकाका कारण दर्शकहरु उनलाई फिल्मको नायक नै मान्थे । यो फिल्मको सुटिङमा रेखाले जीवनलाई गुण्डाहरूबाट जोगाएर भगाउनुपर्ने दृश्य थियो । त्यहीबेला हाम्फाल्ने बेला दृश्यमा ‘मिसप्लेस’ हुँदा उनी राखिएको ‘फर्म’ भन्दा बाहिर लडिन् । जीवनलाई बचाउनुपर्ने सिन थियो तर, रियलमा उनी आफै घाइते भइन् । खुट्टाको ‘लिगामेन्ट’मा असर पर्यो । त्यतिबेला उनी बेडमै थलिएपछि करिब १५ दिनजति सुटिङै राकिएको थियो ।

निखिल उप्रेती : एक्सन हिरोको परिचय बनाएका उनी नेपाली फिल्म पहिलोपल्ट सात तलादेखि हामफाल्ने अभिनेता हुन् । पहिलोपटक हेलिकप्टर स्टन्ट गर्ने पनि उनै हुन् । त्यसैले उनका लागि सामान्य चोटपटक नौलो होइन । तर, ‘सन्तान’ फिल्मको सुटिङका क्रममा भएको दुर्घटनाचाँही उनी बिर्सन सक्दैनन् । बाइक उडाउने दृश्य थियो । उनी उडाउँदै थिएँ । उडाए पनि । तर, उडाउने क्रममा उनको दाहिने हातको ठूलो औँलै भाँचियो । त्यो स्टन्टमा दर्शक त रमाए नै । तर उनको त्यो हातको औँला भने अझै बांगै छ । त्यस्तै १७ वर्षअघि फिल्म ‘भाग्य विधाता’को सुटिङका क्रममा सामान्य जम्प गर्दा पनि उनको देब्रे खुट्टै भाँचियो । खुट्टा भाँचिएपछि डाक्टरले कम्तीमा एक महिना रेस्ट गर्न सल्लाह दिएका थिए । तर, निर्माताको आग्रहपछि उनले १० दिनमै सुटिङ गरे । आफैले बनाएको फिल्म ‘भैरव’को सुटिङमा पनि फाइट सिनको छायांकनका क्रममा सन्तुलन नमिलेर उनको दाहिने खुट्टा भाँचिएको थियो ।

झरना थापा : अहिले पो निर्देशक भइन्, कुनै बेला झरनाको परिचय ‘फाइटर हिरोइन’ नै थियो । त्यसैले सुटिङमा उनले दुर्घटना बेहोरेको अनगिन्ती किस्सा छन् । भारतमा ‘मुग्लान’ भन्ने फिल्मको सुटिङ भइरहेको थियो । एउटा दौडिने दृश्यमा लड्दा उनको दाहिने कुर्कुच्चामाथिको हड्डीमा गम्भीर चोट लाग्यो । त्यतिबेला पनि डाक्टरको सल्लाह १५ दिन आराम गर्नु भन्ने थियो तर, विदेशमा भएकाले चाँडो–चाँडो काम सक्नुपर्ने बाध्यताले सल्लाह मानिनन् । जर्बजस्ती काम गर्दा उनको खुट्टामा निलो रगत नै जमेको थियो । त्यतिबेला खुट्टा निको हुन छ÷सात महिना नै लागको थियो ।’ त्यतिबेला निकै हिट भएको हिट गीत छ– ‘आज बाह्रहाते पटुकी’ । त्यो गीतमा उनको नृत्य छ । अहिले पनि युट्युब खोलेर त्यो नृत्य हेर्नुभयो र त्यहाँ उनको खुट्टालाई राम्रोसँग नियाल्नुभयो उनको खुट्टाको चोटका पीडा महसुस गर्न सकिने झरना स्व्यम् बताउने गर्छिन् । अर्को सुपरहिट फिल्म ‘हामी तीन भाइ’को सुटिङका क्रममा पनि गाडी चलाउने सिन खिच्दा झरना दुर्घटनामा परेर घाइते भएकी थिइन् ।

सरोज खनाल : खनालले त आङ नै सिरिङ हुने दुर्घटना बेहोरेका छन् । ०५२ सालतिरको कुरा हो । पोखाराको फेवातालमा फिल्म ‘जन्म जन्म’को सुटिङ भइरहेको थियो । डुंगामा चढेको सिन थियो । एउटा डुंगामा ठूलठूला सोलार लाइटहरू राखिएका थिए । लाइटम्यानले मादक पदार्थ सेवन गरेको कारण लाइट मिलाउन जाने क्रममा डुंगा पल्टियो । डुंगा पानीमा खस्न तीन सेकेन्डमात्र बाँकी थियो । धन्न युनिटकै एक जना सदस्यले हत्त न पत्त मेन सर्किट निकालिदिए । जसकारण २५ जना मान्छेको ज्यान जोगियो । डुंगा खसेर पड्किँदा त बम पड्किएझैँ पड्किएको खनालले अहिले पनि बिर्सिएका छैनन् । पानीमा पर्दा खनालले ज्यान गएको ठानेको थिए । तर, बाँचे । पछि रिसको झोकमा मादक पदार्थ सेवन गर्ने लाइटम्यानलाई उनले एक लात पनि हाने । यही घटनाका कारण खनाल अहिले पनि आफ्नो जीवनलाई दोश्रो जीवन ठान्छन् ।

एनबी महर्जन : आजभन्दा २६ वर्षअघि ‘दुश्मन’ फिल्मको सुटिङमा भएको घटना हो । त्यहाँ ‘ब्लास्टिङ सिन’ को छायांकन भइरहेको । फिल्मको द्वन्द्व निर्देशक रहेका महर्जन स्वयं उक्त दृश्यमा स्टन्ट गरिरहेका थिए । स्टन्टका क्रममा एक्कासी उनको शरीरमै आगो लाग्यो । यो नेपाली फिल्मको सुटिङका क्रममा भएको दुर्घटनामध्येमै ठूलो र डरलाग्दो मानिन्छ । त्यतिबेला उपचारका क्रममा एनबी करिब दुई महिना अस्पताल बस्नुपरेको थियो ।

केकी अधिकारी : अहिले हलमा सफलतापूर्वक चलिरहेको फिल्म ‘बोक्सीको घर’ की अभिनेत्री केकीले पनि सुटिङका बेला धेरै पल्ट दुर्घटना भोगेकी छिन् । ‘महसुस’ फिल्मको सुटिङका बेला उनी बाइक दुर्घटनामा परेकी थिइन् । त्यही घटनाका कारण उनको खुट्टामा पानी नै जम्यो । त्यस्तै ‘आई एम सरी’ फिल्मको सुटिङका बेला पोखराको फेवातालमा खुट्टा चिप्लिएर लडेकी थिइन् । त्यतिबेला उनको नजिक रहेका क्यामेरा टेकरले उनलाई तान्न भ्याएका थिए । केकी त बेहोस नै भएकी थिइन् । ‘माई प्रमिस’ फिल्मको सुटिङको क्रममा पनि तिखो धार भएको चक्कुले उनको घाँटी छुँदा रगत नै आएको थियो ।

वर्षा शिवाकोटी: हेटौँडामा ‘कारखाना’ फिल्मको सुटिङ थियो । हिरोसँग बुलेट बाइक पछाडि बस्ने सिन थियो, त्यो नि वान साइडेड । वर्षाले लगाएको ड्रेस चिप्लो थियो । दुवै हातमा सामान बोकेकी थिइन् । कतै समाउन मिल्थेन । बाइक स्टार्ट गरेर चलाउने बेलामा एक्कासी उनी हुत्तिइन् र सिधैँ सडकमै पछारिइन् । उनको हात र टाउको दुवैतिर चोट लाग्यो । फिल्मको सुटिङ पनि दुई दिनलाई रोकिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट