काठमाडौं । बिहीबार दिउँसो अचानक सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिँदै गरेको चर्चा चुलियो । केही सञ्चार माध्यमले लामिछानेको राजीनामा पछि रास्वपाबाट को होलान् गृहमन्त्री भन्ने कोणबाट समेत सामाचारहरु प्रकाशित गरे ।
सहकारी प्रकरणमा छानबिन समिति बनाउने सन्दर्भमा छलफल भइरहेको बेला आएका समाचारहरुप्रति गृहमन्त्री लामिछानेले आक्रोश पोखेका छन् । उनले सञ्चार माध्यममा ‘घिनलाग्दो मिडिया ट्रायल’ भएको भन्दै विरोध जनाएका छन् ।
“एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको”, लामिछानेले सामाजिक सञ्जालमा भनेका छन्, “यति घिनलाग्दो मिडिया ट्रायल ?”
सत्ता साझेदार दलहरुबीच सहकारी प्रकरणमाथि छानबिन गर्न छानबिन समिति बनाउने वा नबनाउने भन्ने विषयमा छलफल भइरहेको छ । रास्वपाका सह–प्रवक्ता मनिष झाका अनुसार रास्वपाले समग्र सहकारी प्रकरणमाथि छानबिन गर्न सहमति जनाएको छ । तर, सँगै प्रश्नले घेरिएका लामिछानेले संसद बोल्न पाउनुपर्ने माग रास्वपाले राखेको छ ।
तर, रास्वपाको उक्त मागमा सत्ता साझेदार सहमत भएपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहमति जनाएको छैन । कांग्रेसले लामिछानेलाई बोल्न दिन नसकिने बताइरहेको छ । यहीबीच सञ्चार माध्यममा भने अनेकन कोणबाट समाचार आएपछि लामिछानेले सामाजिक सञ्जालमार्फत सञ्चार माध्यमको समाचारप्रति धारणा सार्वजनिक गरेका हुन् ।