रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्याे-Sutra News

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्याे

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको संख्या बढ्न थालेको छ। ठूलो संख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।



चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय ६ सवारी साधन आयात भएका छन्। तीमध्ये चार हजार ६ सय ७९ विद्युतीय कार रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ।

विसं २०७२ को मङ्सिरपश्चात् रसुवागढी नाकाबाट पाँच हजार आठ सय ५० सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको कार्यालयका सूचना प्रविधि अधिकृत निर्मल कँडेलले जानकारी दिए। उनका अनुसार भन्सार क्षेत्रभित्र प्रवेश गरी काठमाडौंतर्फ प्रस्थान गर्नका लागि दर्जनौं सवारी साधनले प्रक्रिया गरिरहेका छन्।

विद्युतीय कारको खरिद मूल्य भने चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार र भन्सार शुल्क ११ लाख ९८ हजार रुपैयाँ पर्ने बताइएको छ।

भन्सार कार्यालयले चालु आवमा नियमानुसारको दररेटबाट मनग्य कर असुली गरेको जनाएको छ। प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आवको नौ महिनामा १५ अर्ब ७७ करोड राजस्व असुली भएको हो। तुलनात्मक हिसाबले एक सय ६६ प्रतिशत राजस्व वृद्वि भएको उनले जानकारी दिए।

गत वर्षको यस अवधिमा पाँच अर्ब ९४ करोड मात्र असुली भएको थियो। ठूलो संख्यामा चीनबाट सवारी साधन आयात भएकाले चालु आवमा करबापतको राजस्व बढेको भन्सारका कर्मचारी बताउँछन्।

चालु आवको नौ महिनामा ४८ अर्ब ५९ करोड रुपैयाँबराबरको सामग्री आयात भएको थियो। आयातीत सामग्रीमा साना–ठूला सवारी साधन, इलेक्ट्रिक सामान, जुत्ता, चप्पल, स्याउ, ओखरलगायत दैनिक उपभोग्य सामग्री रहेको भन्सार अधिकृत पाठकले जानकारी दिए।

सबैको प्रयासबाट राजस्वको असुली उत्साहजनक भइरहेको, व्यवसायीले सामान ल्याएर पालैपालो परीक्षणका लागि समन्वय गरिरहेकाले काम चाँडो भइरहेको कर्मचारीको भनाइ छ। सबैले आआफ्नो जिम्मेवारी पूरा गरेकाले कुनै समस्या नभएको सेवाग्राही बताउँछन्।

गत वर्षको तुलनामा ८९ प्रतिशतले आयात बढेको भन्सार तथ्यांकले देखाएको छ। उता सवारी चालकले भने सडक मार्ग व्यवस्थित हुन नसक्दा रसुवा खण्डको सडकमा मालवाहक कन्टेनर डिब्बा तथा नयाँ विद्युतीय सवारी साधन गुडाउन असहज भएकाले सडक मार्ग राम्रो मर्मत सुधार गरिदिन सवारी चालकले अनुरोध गरेका छन्।

सुधारका लागि भइराखेका सडकका दायाँबायाँका ढुङ्गामाटो बीचमा राखी रोलरले पेले मात्रै नि सहज हुन्थ्यो, सहज बनाउने मनस्थिति बनाइदिन सडक प्राविधिकसँग सवारी चालकले अनुरोधसमेत गरेका छन्।

राजस्व चुहावट नियन्त्रणका लागि सामान परीक्षण गर्ने पार्किङदेखि कार्यालयसम्म सिसिटिभी जडान गर्नाका साथै परीक्षणस्थलमा सामान खुला रूपले परीक्षणका लागि ट्रस भवन निर्माण भइसकेकाले झरी–बादल जुनसुकै अवस्थामा पनि काम गर्न सकिने सेवाग्राहीले बताएका छन्।

भन्सार हातामा मालसामग्री परीक्षणका क्रममा केरुङबाट कन्ट्रेनर डिब्बाले ल्याएका सामग्री झिक्ने र राख्नका लागि पाँच सयभन्दा बढी मजदुरले रोजगारी पाएका छन्। यसले उनीहरुको जीविकोपार्जनमा सहयोग पुगेको सेवाग्राहीको भनाइ छ।

चीन सरकारको सहयोगमा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहको काम तीव्र गतिमा भइरहेको छ। काममा संलग्न ठेकेदार कम्पनी तिब्बतफुलीका प्राविधिकले दिएको जानकारीअनुसार भोटेकोसीको बगरलाई तटबन्ध गर्ने र भन्सार हाताभित्र आगमन तथा बाहिरिने छोटो सडक मार्ग निर्माणसम्पन्न भइसकेको छ।

मैदान पुरेर सम्म बनाउने, सुक्खा बन्दरगाह स्थलमा माटो भर्ने तथा सोही स्थानमा भन्सार कार्यालय निर्माण अगाडि बढिरहेकाले अबको एक वर्षमा सबै निर्माण पूरा गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीको भनाइ छ। चिनियाँ प्रविधिकले हालसम्म ५५ प्रतिशत प्रगति भएको जनाएका छन्। राससबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट