काठमाडौं । सहकारी ठगी प्रकरणबारे अनुसन्धान गर्न संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दुई नेता थपिएका छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र सांसद ज्ञानेन्द्रबहादुर कार्की सहभागी भएका हुन् ।
विपक्षी मोर्चाको बैठकलगत्तै लेखक र कार्की सिंहदरबार पुगेका हुन् । विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरिसकेको छ ।
गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभए प्रतिपक्षी दलहरूले सदनमा अवरोध गर्ने जनाएको छ । छानबिन समिति गठनका लागि सत्ता पक्ष सहमत भए पनि क्षेत्राधिकारको विषय के हुने भन्नेबारे निष्कर्ष आउन बाँकी छ ।
कानून मन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल छन् ।