काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौंमा बोलाएको छ ।
बैठकमा पार्टीले उठाउँदै आएको हिन्दु राष्ट्र, संघीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानको विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा समसामयिक परिस्थितिबारे छलफल गरिनेछ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनुका साथै संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक प्रतिवेदन तथा महामन्त्री डा धवल शमशेर जवराले सांगठनिक प्रतिवेदन पेस गर्ने छन् । बैठकमा पार्टीको आगामी कार्यक्रम, युवा सहभागिता वृद्धि गर्ने, विधान आवश्यक हेरफेरका लागिसमेत छलफल गरिने छ ।