काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री भएको १६ महिनापछि प्रधानमन्त्रीले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा चौथो पटक विश्वासको मत मागेका थिए ।
संसद बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।
विश्वासको मत माथिको प्रस्तावमा मतदान प्रक्रियामा १५८ सांसदले मात्र भाग लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावमा १५७ मत परेको थियो ।
प्रस्तावमा मत दिन्न भन्ने पक्षमा एक मत परेको थियो । अन्य दलले भने विश्वासको मतको मतदानको प्रक्रियामा भाग लिएका थिएनन् ।
उनलाई सत्तारुढ दलहरू नेकपा एमाले, नेकपा माअोवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी र नयाँ दल जनता समाजवादी पार्टीका सांसदहरूले विश्वासको मत दिएका थिए ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता गरेसँगै उनले चौथो पटक विश्वासको मत मागेका हुन् ।