रोमान्टिक हिरोको छवि बदल्दैछन् प्रदिप, यस्तो छ उनले बुझेको जातीय विभेद-Sutra News

रोमान्टिक हिरोको छवि बदल्दैछन् प्रदिप, यस्तो छ उनले बुझेको जातीय विभेद

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं। फिल्म क्षेत्र अभिनेता प्रदिप खड्कालाई ‘स्टार’को ट्याग दिइरहेको छ । तर, प्रदिप स्वयम्को सपना भने स्टार हुँदै होइन । न यो स्टारडमको स्थायित्वप्रति नै उनलाई विश्वास छ । उनी सधैँ भन्ने गर्छन्, ‘स्टार त कति भए, कति भएर पनि गए । म यो क्षेत्रमा रहिरहन चाहन्छु । त्यसका लागि राम्रो कलाकार हुन जरुरी छ । र, मेरो लक्ष्य पनि यही हो ।’



प्रदिप आफैले निर्माण गरेर अभिनय गरेको पहिलो फिल्म ‘स्केप’ दर्शकको नजरमा नपरेपछि उनी विदेश पलायन हुने तयारीमा थिए । तर, संयोगले उनको हातमा जीवनको नयाँ घुम्ती बनेर आइपुग्यो सन्तोष सेनको फिल्म ‘प्रेम गीत’ । यही फिल्मबाट उनको जीवनको बाटो मोडियो । दर्शकमाझ ‘रोमान्टिक हिरो’ को छाप बस्यो । तर, यही छविमा उनी खुम्चिन चाहन्थेन । अभिनयमा विविधता पस्किन चाहन्थे । जसै निर्देशक दिनेश राउतले ‘प्रकाश’ मार्फत उनलाई फरक भूमिकामा उतारे, उनको रामोन्टिक हिरोको छवि पनि बदलियो । यही बदलिएको छविलाई थप माझेर जेठ १० गते प्रदिप पुनः पुजार सार्कीमार्फत हलमा देखिँदैछन् ।

फिल्ममा ‘मैतबहादुर’ बनेका छन् उनी। ‘मैतबहादुर’ समाजको त्यो पात्र हो जसले अन्तर्जातीय प्रेम गरेको छ। उसले आफ्नो प्रेम प्राप्तिको लागि जे पनि गर्न तयार छ। ‘म कुन चेतना स्तरको कलाकार हो भन्ने कुराले अर्थ राख्ला। जुन समयमा मैले सुरु गर्दै गएँ, त्यो बेला म शून्य थिएँ,’ प्रदिप भन्छन्, ‘मलाई ‘गाइड’ गर्ने कोही थिएन। ‘गाइड’ गर्ने शिक्षक अथवा गुरु भइदिएको भए राम्रो र नराम्रो छुट्टाउँथे होला। मलाई जे आयो त्यही गर्दै गएँ। मैले चरित्रलाई फरक गर्न सकिनँ भन्ने आलोचना खेपिरहेको थिएँ। जब ‘प्रकाश’को प्रस्ताव आयो, त्यो प्रस्तावलाई मैले पुरा गर्नुपर्छ भन्ने चेत आयो। अनि मैले ‘प्रकाश’ गरेँ। यो चलचित्रपछि मैले जुन किसिमको प्रतिक्रिया पाएँ, अनि त्यसलाई संस्थागत गर्नुपर्छ भनेर त्यस्तै चरित्रमा आधारित पुजार सार्की गरेको हुँ।’

यो फिल्ममा प्रदीपको निर्वाह गरेको पात्र ‘मैतबहादुर’को पेसा बाजा बजाउने छ, जो दलित समुदायबाट प्रतिनिधित्व गर्छ। प्रदीप आफ्नो पात्रले नेपाली समाजलाई यसअघि चलचित्रहरूमा देखाइने गरेको ‘स्टेरियोटाइप्ड’ दृष्टिकोणबाट बाहिर निकाल्ने दाबी गर्छन्। ‘विदेशी चलचित्रले नेपाल देखाउँदा बहादुर, गोर्खाली या शेर्पा नै देखाउँछन्,’ उनी भन्छन्, ‘हामीलाई पनि कुनै शोषित समाज या सामन्ती समाजलाई ‘स्टेरियोटाइप्ड’ गरिएको भान हुन्छ। उनीहरूले तराइवासीको फिल्म बनायो भने पानी पुरी र कपाल काट्ने नै देखाएको जस्तो देखिन्छ। त्यो चिज नेपाली चलचित्रमा नहोस् भन्नेमा सजग छु। मेरो चरित्र भनेको दलित समुदायबाट प्रतिनिधित्व गर्ने हो, तर उसले आफूलाई कसरी हेर्छ त भन्ने चाहिँ नयाँपन हो।’

यो चलचित्रले विभेदको समस्या कति समाधान भयो भन्ने कुराको प्रश्न पनि गर्छ,’ उनको दाबी छ, ‘सामन्ती भनिएका वर्गले ‘ए हामीले गल्ती गरेका रहेछौँ’ भनेर बुझेको भए समस्याको समाधान छिटो हुन्थ्यो कि? चलचित्र हेरिसकेपछि तपाईँलाई हामी त गलत कोणबाट पो झगडा गरिरहेका छौँ भन्ने झस्काउनेछ।’

यो फिल्मले मुख्यतः जातीय विभेदविरुद्धको कथा बोल्छ। प्रदीप आफैँ दलित पात्र बनेर अभिनय गरिरहँदा भविष्यमा अवरोध पो आउने हो कि भन्ने कुरामा उनी पहिले नै प्रस्ट थिए। ‘सही काम गरिएको छ भने त्यसको प्रतिफल गलत हुँदैन भन्नेमा म प्रस्ट छु,’ उनले भने, ‘कसैले आजको दिनमा विभेद छैन, यो कुरा किन अगाडि ल्याइरहेको हो भनेर भन्यो भने पनि यो कला र साहित्य हो। अहिले विश्वयुद्धको, हिट्लरको चलचित्र बनाउन नपाउने भन्ने त हुन्न होला। काला जातिलाई जुन शोषण गरियो, त्यस विषयमा चलचित्र बन्न बन्द गर्नुपर्ने पनि होइन होला। नेपालको परिप्रेक्ष्यमा पचासौँ वर्षदेखि एउटा वर्ग आन्दोलनरत छ। तर पनि उनीहरूले आजको दिनमा पनि विभेदका घटना व्यहोरिरहेका छन् ।’

प्रदीपको बुझाइमा छुवाछुत र जातीय विभेदविरुद्धका कानुन बने पनि ती कानुनबाट कतिपय वञ्चित छन् त कतिपय दण्डित। उनको दाबी मान्ने हो भने ‘पुजार सार्की’ले आजको दिनमा समेत हुने गरेको विभेदको समस्या माथि प्रश्न उठाउँछ। ‘यो चलचित्रले विभेदको समस्या कति समाधान भयो भन्ने कुराको प्रश्न पनि गर्छ,’ उनको दाबी छ, ‘सामन्ती भनिएका वर्गले ‘ए हामीले गल्ती गरेका रहेछौँ’ भनेर बुझेको भए समस्याको समाधान छिटो हुन्थ्यो कि? चलचित्र हेरिसकेपछि तपाईँलाई हामी त गलत कोणबाट पो झगडा गरिरहेका छौँ भन्ने झस्काउनेछ।’

‘म हुर्कँदै गर्दा देखेको त बेण्ड बाजा थियो। पञ्चेबाजा थाहा नै थिएन,’ प्रदिपले सम्झिए, ‘खासमा मलाई दमाईहरूले बजाउने बाजा भन्ने पनि थाहा थिएन। मैतबहादुर बनेपछि मात्र मलाई यसबारेमा विस्तृतमा थाहा भयो। मैले सुटिङ सेटमै दमाहा बजाउन सिकेँ। ’

प्रदीपले वास्तविक जीवनमा भने उनले कलेज जीवन सुरु गरेपछि मात्र सञ्चारमाध्यमका समाचारमार्फत जातीय विभेदका कुरालाई बुझेको बताए ‘म ललितपुरको एकान्तकुनामा जन्मिएँ। मलाई जातीयताका आधारमा विभेद हुन्छ भन्ने धेरै पछि मात्र थाहा भयो। १२ कक्षा पढुन्जेल मेरा साथीहरू कुन जातको र कुन समुदायको भन्ने थाहा थिएन। सबै जना आफैँ जस्तो देख्थेँ। तर जब परिवार बाहिर आएर मिडिया बुझ्न थालेँ, अनि मात्र विभेद पनि हुँदो रहेछ भन्ने थाहा पाएँ,’ उनले बताए ।

‘पुजार सार्की’को पोस्टर तथा ट्रेलर र गीतमा प्रदीपले पञ्चेबाजाको प्रमुख बाजा ‘दमाहा’ बजाएको देखिन्छन्। उनले पहिलो पटक सो बाजालाई बुझ्ने मौका पनि यही चलचित्रको दौरान पाए। काठमाडौं उपत्यकाको ललितपुर क्षेत्रमा हुर्किएका खड्काले बाल्यकालमा सधैँ बेण्ड बाजा बजाएको देखेका थिए। उनी घरबाहिर हिँड्न थालेपछि मात्र पञ्चेबाजा थापा पाए। सहरी क्षेत्रको भएकाले पञ्चेबाजा बजाउने समुदायको बारेमा समेत उनले खास कुरा बुझ्ने मौका पाएनन्।

‘म हुर्कँदै गर्दा देखेको त बेण्ड बाजा थियो। पञ्चेबाजा थाहा नै थिएन,’ प्रदिपले सम्झिए, ‘खासमा मलाई दमाईहरूले बजाउने बाजा भन्ने पनि थाहा थिएन। आजकल सबैले बजाउने भएकोले पुरानो समयमा र ग्रामीण क्षेत्रमा के हुन्छ थाहा भएन। यस चलचित्रमा दमाई पात्र मैतबहादुर बनेपछि मात्र मलाई यसबारेमा विस्तृतमा थाहा भयो। मैले सुटिङ सेटमै दमाहा बजाउन सिकेँ। ’

प्रदिपले दमाहा बजाएको देखेर गाउँका मान्छेहरू पनि अचम्मित भएका थिए । ‘म पहिला तबला बजाउँथे, मलाई बिटहरूको आइडिया छ,’ उनले भने, ‘म अहिले पनि गितार बजाउँछु। त्यस कारण मलाई रिदमको जानकारी थियो। त्यस कारण पनि दमाहा बजाउँदा त्यो टिप्न सजिलो भयो होला। बिटमा बजाउन मलाई समस्या भएन। मैले केवल टाइमिङ मात्र सिक्नु थियो। तर मैले नरसिंह चाहिँ फुक्न सकिनँ। सायद पावर पुगेन कि।’

आजकल प्रदीप यर्थाथपरक चरित्र निर्वाह गर्न मनपराउँछन् । ‘लार्जर देन लाइफ भनेर स्वाट्ट बाइकबाट चस्मा लगाएर ओर्लिने भन्दा पनि ‘ए ! यो त हाम्रो गाउँको मान्छे’, ‘ए ! यो त नेपाली हो’ र यो चाहिँ ‘रिलेट’ गर्न सक्ने किसिमको हो भन्ने खालको चरित्र मन पराउँछु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट