काठमाडौं । नेपाली कांग्रेसले संसद्मा सभामुखको भूमिका पदीय गरिमाअनुसार नभएको बताएको छ । प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि यस्तो प्रतिक्रिया दिएको हो ।
विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठकअगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएका थिए ।
संसद बैठकपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकले सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको हो ।
‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने ।
बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्न आग्रह गरेको छ ।