सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट चौथोपटक विश्वासको मत लिँदा अनौठो दृष्य देखियो । प्रतिपक्षी कांग्रेसको चर्को नारावाजीकाबीच मर्यादापालकको घेराबाट उनले विश्वासको मत लिए । उनले विश्वासको मत त पाए तर, संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस स्वयम् प्रमुख प्रतिपक्षमा हुँदा हुँदै विपक्षमा शून्य मत पर्यो ?
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्ने सहमति भई कार्यदलले कार्यादेशको टुंगो लगाउने विन्दूमा आइपुग्दा समेत कांग्रेसले किन विश्वासको मतको विपक्षमा समेत भोट हालेन । के हो कांग्रेसको बटमलाइन ? छानबिन समिति बनाउने सहमतिको अब के हुन्छ ? यीनै विषयको सेरोफेरोमा रहेर सूत्रका लागि सरोज कोइरालाले नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसँग कुराकानी गरेका छन् । केसीसँग गरिएको कुराकानीको संक्षिप्त सम्पादित अंश :
प्रधानमन्त्रीले लिएको विश्वासको मतको प्रकृयामा कांग्रेस किन सहभागी भएन ? किन विरोधमा उत्रिएको ?
प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावको मात्र विरोध गरिएको होइन, सहकारी प्रकरणमा गृहमन्त्रीमाथि प्रश्न उठिसकेपछि जबसम्म संसदीय छानविन समितिमार्फत यसको प्रकृया अगाडि बढ्दैन, तबसम्म संसदका अन्य कुनै पनि गतिविधि हुन दिँदैनौ भनेर हामीले भनिसकेको अवस्था हो । सदनमा हामीले सोही मागलाई राखेका हौं ।
समिति बनाउने भनेर त सहमति भइसकेको होइन र ?
कसरी सहमति भयो ? टम्स अफ रिफरेन्स नटुंग्याएर त्यसको के अर्थ हुन्छ ?
त्यो त कार्यदलले टुंग्याउँछ नि !
कसरी टुंग्याउँछ कार्यदलले ? २०४७ देखि ८० सम्ममा ८ वटा त्यस्ता समिति गठन भएका छन् । तिनले कहाँ–कहाँ के–के समस्या छन् भनेर प्रतिवेदन बुझाएका छन् । अहिले फेरि त्यस्तै झारा टार्ने समिति गठन गर्न नेपाली कांग्रेसले कसरी स्वीकार्न सक्छ ?
हामीले प्रष्ट रुपम भनेका छौँ, सहकारी प्रकरणमा देशको गृहमन्त्रीको संलग्नता देखियो । हो कि होइन, त्यो छानबिन समितिले प्रमाणित गर्ने कुरा हो । गोरखा मिडियासँग सम्बन्धित सहकारीलाई प्राथमिकता दिएर अन्यको पनि छानबिन गर्न हामी सकारात्मक नै हो । तर, ३२ हजार सहकारीको जसरी सोलोडोलो रुपमा ल्याउन खोजिएको छ, यसरी अल्मल्याउन खोजेर कांग्रेस अल्मलिन्छ ?
तर, कांग्रेस विश्वासको मतको विपक्षमा उभिन सक्थ्यो नि ? त्यसपछि विरोध गर्ने त छँदै थियो, होइन र ?
सत्तापक्षसँग बहुमत छँदै थियो, बहुमत पुग्थ्यो । प्रधानमन्त्रीले टम्स अफ रिफरेन्समा अलि बढी महत्व दिएको भए सोमवार साँझसम्ममा निष्कर्षमा पुग्न सकिन्थ्यो । अनि उहाँले विश्वासको मत अलि ढिलो लिँदा के बिग्रन्थ्यो ? सुरक्षा घेरामा बसेर लिन पथ्र्यो ?
तर, रेकर्डमा त विपक्षमा शून्य मत पर्यो नि ? यसले प्रतिपक्षी खोई, कांग्रेस खोई भन्ने सवाल त जन्मायो नि ?
विपक्षी त सिंगै विरोधमा थियो त । संसद विपक्षीको हो नि । उहाँहरुले वाइपास गर्न खोज्नुभयो । यो सबै खेल हो । ओलीजी त संसद विघटनकै पक्षमा हो अहिले पनि । रविलाई जतिसुकै काँधमा हाले पनि त्यही हो । र, सोमवार पनि प्रचण्डले मात्र गरेर त त्यस्तो हुँदैन थियो । सभामुखसमेत सभामुख जस्तो हुनुहुन्नथ्यो । उहाँ त ‘सत्तामुख’ जस्तो हुनुभयो । त्यसो भएको हुनाले लोकतन्त्रका मूल्य मान्यता जसरी भत्काउन खोजिएको छ, त्यसले त फेरि संसद विघटनसम्म पु¥याउने हो ।
प्रधानमन्त्रीले त रोष्ट्रमबाटै कडा चेतावनी दिनुभयो नि । ‘यो तपाईहरुको गतिविधि महँगो पर्छ’ भन्नुभयो । यो सुन्नुभयो कि नाराबाजी गर्दागर्दै सुन्नुभएन ?
मैले राम्रोसँग सुन्या छु । राणा अधिनायकहरुले पनि कांग्रेसलाई यस्तो चुनौति दिएकै हुन् । दुई सय ३८ वर्षको राजतन्त्रमा यी भएका कम्युनिष्टहरुले समेत राजासँग मिलेर कांग्रेसलाई खेदेकै हुन् । अहिलेको यो निरंकुशताउन्मुख सत्ता गठबन्धनले चुनौति दिएर नेपाली कांग्रेसलाई एक रौँ पनि फरक पर्दैन ।
गृहमन्त्री रवि लामिछाने र उनको पार्टी रास्वपाले पनि कांग्रेस सभापति र उनको परिवारसँग जोडिएका काण्डका पनि फाइल खोल्ने चुनौति आएको छ, के तपाईंहरु तयार हुनुहुन्छ ?
झण्डै असंसदीय शब्द आइसक्या थ्यो मेरो मुखबाट । सत्तामा बसेर माग राख्ने कायरहरुसँग के कुरा गर्नु ? गरे भइहाल्यो नि । उहाँले आफू गृहमन्त्री भएको भुल्नुभयो कि करुणा जाग्यो, कि सत्तागठबन्धनको बाध्यताले हो ? उहाँले त गिरीबन्धु टिस्टेट बिर्सिनुभयो, एनसेल काण्ड बिर्सिनुभयो, सुन काण्ड किन बिर्सिनुभयो ? यता यति काण्ड, ओम्नी काण्ड, सबै गरे भइहाल्यो नि । उहाँले त यति सम्मान पाउनुहुन्छ कि, गर्न खोजेको मान्छे हो गर्नुभयो भनेर । एउटाको पपेट बनेर कांग्रेसलाई तर्साउन खोजेर कांग्रेस तर्सिदैन ।
तपाईंहरु सरकारमा रहँदै रवि लामिछाने सहकारी काण्डमा जोडिएको विषय त सार्वजनिक भइसकेको थियो । त्यतिबेला कांग्रेसले वास्तै गरेन । जब प्रतिपक्षको कित्तामा पुग्यो अनि राजनीतिक कुण्ठा पोख्न थाल्यो भन्ने आरोपको खण्डन कसरी गनुहुन्छ ?
यस्तो आरोप लगाउनेहरु सय प्रतिशत असत्य चाहिँ हुन् भन्दिन । तर, कुरा के हो भने प्रधानमन्त्री त हाम्रो होइन, गृहमन्त्री पनि हाम्रो थिएन । हामीले कुरा उठायौँ, उहाँहरुले गर्न चाहनुभएन, त्यहीबेला सत्ता गठबन्धन परिवर्तन भयो ।
केसीसँगको पूरा संवाद हेर्न तलकाे भिडियाे लिंक क्लिक गर्नुहाेस्