विवाहको बहानामा चीन लगेर मानव बेचबिखन, महिला पक्राउ-Sutra News

विवाहको बहानामा चीन लगेर मानव बेचबिखन, महिला पक्राउ

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडौं । विवाहको बहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा नुवाकोट किस्पाङ्ग गाउँपालिका १ ठेगाना भई चीनको हेइलोंगजियांग प्रोभिन्सको हर्बिन सिटीमा बसोबास गर्ने ४३ वर्षीया मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ ।



पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगर २७ ठमेलबाट पक्राउ गरेको हो ।
मनमायाले पीडितलाई चिनियाँ नागरिकसँग विवाह गरे पाँच वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै ललाई फकाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत काठमाडौंमा लगि नक्कली विवाह गराएको प्रहरीले जनाएको छ ।

उनले २०७९ चैत १३ गते चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई २०८० वैशाख १ गते चीनमा पुर्‍याएर यौन शोषण एवम् वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । मनमायाले पीडितलाई नेपाली पाँच लाख रूपैयाँमा बेचबिखन गरेको खुल्न आएको छ । पीडितलाई वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा चीनस्थित नेपाली दुतावाससगँको समन्वयमा २०८० असार १ गते नेपाल फर्कन सफल भएका थिए ।

उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट