सिरोहिया पक्राउकाे तरंग : थरिथरिका प्रतिकृया तर, कानुनी कारण यस्ता-Sutra News

सिरोहिया पक्राउकाे तरंग : थरिथरिका प्रतिकृया तर, कानुनी कारण यस्ता

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

काठमाडाैं नागरिकता किर्ते काण्डमा कैलाश सिरोहिया पक्राउ परेपछि पक्ष/विपक्षमा प्रतिकृया आउन थालेका छन् । कतिले गल्ति गर्ने जोसुकै कानूनी कठघरामा आउनुपर्छ भनेका छन् भने कतिले यसलाई प्रेस स्वतन्त्रतासँग जोडेका छन् । 



सहकारी काण्डबारे समाचार प्रकाशन गरेबापत उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लिएको बदलाका रुपमा पनि कतिले व्याख्या गरेका छन् । तर, यसबीचमा कैलास सिरोहियाको नागरिकता कीर्तेबारे अनुसन्धान गरेको धनुषा प्रहरीले सिरोहियालाई पक्राउ गर्नुका आधार र कारण सार्वजनिक गरेको छ । 

धनुषा प्रहरीका अनुसार कैलास प्रसाद सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाणपत्र लिएको तर, नागरिकता लिनु पूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहु तेलीको नाउँमा जारी भएको देखिएको बताएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय, धनुषाको चलान नं. १३२१३, मिति २०८१ वैशाख २० को पत्र अनुसार प्राप्त जवाफमा ०३३/३४ को बालिग रेकर्डमा विदेशी बाबु, आमाबाट नेपालमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका बताइएको छ । 

जहाँ धासिराम मारवाडी सिरोहियाको सन्तानहरू गाेपालप्रसाद सिरोहिया, गोविन्दप्रसाद सिरोहिया र पुनमकुमारी सिरोहियाको नागरिकता अंगीकृत नेपाली भएको र नाम प्रष्ट नभएको कैलासप्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएकाे बताएकाे छ । 

कैलासप्रसाद सिरोहियाले वि.सं. २०५७ असोज २९ मा नागरिकताको प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालय, धनुषाको रेकर्ड पुस्तिका ढड्डामा फोटोसहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको, जन्ममितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको प्रहरीले बताएकाे छ । उक्त रेकर्डमा जन्म मिति उल्लेख नरहेको पनि भेटिएकाे बताइएको छ ।

सिराेहियाले नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्म मिति २०१९ मंसिर १९ समेत लेखेको पाइएको हुँदा जन्म मितिमा उल्लेखित अङ्कको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएका उमेर र अन्य अङ्कहरूको आकृतिसँग मेल खाएको तथा फरक देखिएकोले पछि कोष्टमा जन्म मिति थपी किर्ते गरेको देखिएको पनि प्रहरीले बताएकाे छ । 

यस्तै, सिरोहियाले प्रथम पटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६ भदौ २५, जन्म मितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर, उनले २०५७ असोज २९ मा प्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष, जन्ममिति २०१९ मंसिर २९ लेखेको पाइएकोले उमेर, जन्म मिति र नागरिकताको जारी मितिबीच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकोले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको प्रहरीले बताएकाे छ । 

कैलासप्रसाद सिरोहियाले नागरिकता लिँदा पेश गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेको पनि बताइएको छ । कैलास सिरोहियालाई पक्राउ गर्नुपर्नाको आधार र कारणसहित धनुषा प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काको हस्ताक्षर छ । 

अब थप छानविन र अदालतले यस विषयमा फैसला गर्ला । कहाँबाट कसरी पक्राउ गरियो भन्ने छुट्टै बहसको विषय होला तर, अहिले जसरी प्रेस स्वतन्त्रताविरुद्ध भन्दै विरोध गरेर छानविन र फैसलामाथि प्रभाव नपार्ने कि ? 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट