नविन सुब्बा नेपाली फिल्मका चिन्तक हुन्, समिक्षक हुन्, निर्देशक हुन्। उनको फिल्मप्रतिको बुझाई, विचार र ज्ञानका कारण कतिपय उनलाई नेपाली फिल्मको ‘विश्वविद्यालय’ नै मान्छन् । उता दयाहाङ राई अहिलेका सबैभन्दा व्यस्त अभिनेता । कसैले जनजाति समुदायको कथा भन्दैछ र प्रमुख पात्र खोज्दैछ भने सम्भवतः उसको प्रमुख रोजाईमा पर्छन् उनी । त्यसैले त फिल्ममा राई, लिम्बु, गुरुङ, तामाङ, थारु, भुजेल सबै सबै समुदायको चरित्र निर्वाह गरिसके । पाँच वर्षअघिसम्म निर्देशक सुब्बाले स्व्यम् दयाहाङको फिल्म अभिनय र उनको बढ्दो संख्यालाई लिएर टिप्पणी गर्दे भनेका थिए, ‘उनी दोश्रो राजेश हमाल भइसके ।’ तर, अहिले सुब्बा स्वयम्ले निर्देशन गरेको जेठ २५ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्म ‘गाउँ आएको बाटो’ मा दयाहाङलाई प्रमुख पात्रमा लिएका छन् । दयाहाङप्रति सुब्बाको पुरानो दृष्टिकोण अहिले बदलिएको हो ? प्रस्तुत छ, दुवैलाई सँगै राखेर गरिएको यो विशेष कुराकानी :
नविन सुब्बा यसअघि फिल्मको प्रचारमा खासै हिड्ने मान्छे होइन । यसपटक बढी सक्रिय देखिनुहुन्छ । कस्तो महसुस भइरहेको छ ?
नविन : म आफै प्रचारमा बढी हिड्नुको कारणचाँही नेपाली फिल्म क्षेत्रमा अहिले जर्बजस्ती स्थापित गर्न खोजिएका केही भाष्यहरुलाई ‘क्रस’ गर्न पनि हो । मैले सधैँ भन्दै आइरहेको के हो भने नेपाली फिल्म इन्डष्ट्री बचाउने हो भने स्थानिय र ग्लोबल अडियन्सलाई जोड्नुपर्छ । त्यो भनेको के हो भनेर बुझाउन र आफ्नो फिल्मबारे प्रष्ट पार्न पनि म अहिले आफै कुदिरहेको छु।
केही नेपाली फिल्मले पनि विश्व चर्चित अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा उपस्थित जनाउन थालेका छन्। तपाईकै ‘गाउँ आएको बाटो’ पनि टोरोन्टो, बुसान, बेइजिङ लगायत चर्चित फिल्म फेस्टिभलमा पुगिसक्यो । खासगरी नेपाली फिल्मलाई विश्व मञ्चमा पु¥याउन किन जरुरी छ र के कारण हामीलाई सकिरहेका छैनौं भन्ने लाग्छ ?
नविन : सबैभन्दा बढी फिल्म फेस्टिभलमा जाने अभिनेता दयाहाङ नै हो । अहिलेसम्म विश्वका चर्चित फिल्म फेस्टिलभलमा सहभागिता जनाएका ७–८ फिल्ममध्ये ४–५ वटा त उहाँकै गएको छ । त्यसैले पहिले उहाँकै कुरा सुनौं न ।
दयाहाङ : तर, सुरुवात त दाईले गर्नुभएको हो नि (हाँस्दै) । यहाँसम्म पु-याउनुपर्छ भन्ने जोड पनि उहाँकै थियो । हामी त उहाँको पछिपछि हिडेका हौं । त्यसैले पहिले दाइकै कुरा सुनौं ।
ल पालैपालो सुनौं न ।
नविन : अहिले ग्लोबल्ली फिल्म इन्डष्ट्रीहरु परिवर्तन भएका छन् । नेपालमा कोरियन फिल्म, टर्किस सिरियलहरु खुब चल्छन् । त्यस्तै हाम्रो सिनेमा बाहिर किन नजाने ? ग्लोबल मार्केटको हावा चल्यो, हामी जानुपर्छ भन्ने होइन । हाम्रो इन्डष्ट्री बचाउनलाई जानैपर्छ । एउटा सामान्य उदाहरण हङकङकै लिन सकिन्छ । कुनैबेला हलिउडपछिकै ठूलो इन्डष्ट्री थियो यो । ७० लाख जनसंख्या भएको देशको फिल्म इन्डष्ट्री विश्वकै दोश्रो स्थानमा थियो । ब्रुस्ली, ज्याकी चेन, मिसलियो, टोनिलयो लगायत थुप्रै स्टारहरु सबै त्यहीँकै । तर, अहिले के छ ? अहिले त त्यो इन्डष्ट्री छैन । किनभने चीनसँग एकिकरण हुनेवित्तिकै सबै जनशक्ति चीनले सोस्दियो । बजार एकदमै ठूलो छ, त्यहीकारण सबै चीनतिरै लागे । हङकङ उस्तै रहिरहेन । त्यहीकुरा हाम्रोमा लागु हुन्छ । हामीले हाम्रो इन्डष्ट्रीलाई ग्लोबल्ली जोड्न सकेनौं भने एकातिर बलिउड र मद्रासी सिनेमाको पेलाइमा त छदैछौं, चीन पनि आइपुग्यो भने हामी कहीँ रहन्नौं ।
अब दयाजीको अनुभव सुनौं न । तपाई त सबैभन्दा बढी विश्व चर्चित फिल्म फेस्टिभलमा पुगेको अभिनेता, के फरक पाउनुभयो ?
फिल्मको संस्कृति, फिल्मलाई हेर्ने दृष्टिकोणमा धेरै फरक महसुस भयो । ६० वर्ष बढी भयो नेपाली फिल्मको इतिहास । तर, हामी कहाँ रहेछौं, कुन स्थानमा रहेछौं भन्ने त्यहाँ पुगेपछि महसुस हुन्छ । हामीलाई खोजिरहेका हुन्छन्, देखिरहेका हुन्छन् तर चिनिरहेका हुँदैनन् । हामी अब हाम्रै वरिपरि बसेर मख्ख परेर हुँदैन, विश्वबजारमा पुग्नैपर्छ । हामी विश्वबजारमा पुग्दैगर्दा खेरी हाम्रो फिल्ममात्रै पुगिरहेको हुँदैन, फिल्मसँगै हाम्रो समाज, हाम्रो विश्वासपद्धती, जीवन, लवाईखवाई, पर्व, संस्कृति, भाषा भेषभुषा सबै पुगिरहेको हुन्छ ।
‘गाउँ आएको बाटो’ लिएर टोरोन्टो फिल्म फेस्टिभलमा पुग्दा त्यहाँ तपाईलाई नेपालको अमिताभ बच्चन भनेर सम्बोधन गरिएको भन्ने सुनिएको थियो, सत्य हो ?
दयाहाङ : एकजना भारतीय समीक्षकले स्टेजबाट मलाई बोलाउने क्रममा भन्नुभएको सत्य हो । मेरो ‘हाइवे’ भन्ने फिल्म आएदेखि नै उहाँले मलाई नोटिस्ड गर्नुभएको रहेछ ।
कस्तो महसुस भयो त्यसो भन्दा ?
नविन : जसले दयालाई त्यसो भन्नुभयो उहाँलाई नेपाली फिल्म क्षेत्रबारे धेरै नै ज्ञान छ । अहिले दया नेपालको सबैभन्दा बढी ‘सेलेबल’ एक्टर भन्ने पनि उहाँलाई थाहा छ । त्यसैले पनि भनेको हो ।
नामचाँही के हो उहाँको ?
नविन : साउथ एसियाको फिल्म इन्साइक्लोपेडिया नै उहाँ । नाम मिनाक्षी सिड्डे हो ।
अब ‘गाउँ आएको बाटो’कै कुरा गरौं । यो करिअरकै उत्कृष्ट फिल्म भनेर दयाहाङले दाबी गरिरहेको पाइन्छ । साँच्चै हो ?
दयाहाङ : मलाई मेरो जीवनको बेस्ट फिल्मबारे सोधियो भने ‘गाउँ आएको बाटो’ छुट्दैन । यही फिल्मको प्रि–प्रोडक्सनमा बस्दा मैले आफूले आफूलाई कसरी काम गरिरहेको छु भनेर समीक्षा गर्ने मौका पाएँ । अर्को कुरा, म राई समुदायबाट भएपनि राई नै बनेर फिल्ममा अभिनय गर्न पाएको यही फिल्मबाट हो । राईभित्रकै विविधतालाई झन् नजिकबाट बुझ्ने मौका मिल्यो । नविन दाईको ‘नुमाफुङ’ हेरेपछि नै मलाई हाम्रो पनि कथा फिल्ममा आउने रहेछ भन्ने महसुस भएको हो । त्यसपछि नविन दाईसँगै ‘दलन’ टेलिसिरियलमा काम गर्ने मौका पाइयो । त्यसपछि भने जुरेको थिएन । कुनै कुनै फिल्म गरिरहँदा मलाई भित्रैबाट गर्ने लोभ त लाग्छ तर आँट आइरहेको हुँदैन । यो फिल्म त्यस्तै सूचीमा पर्छ । मैले काम गर्न सकिनँ भनेर एउटा राम्रो सृजना बिग्रिन्छ भन्ने लागेको थियो । तर, गरियो । अब मेरो जीवनकै उत्कृष्ट फिल्म कुन हो भनेर कसैले सोध्यो भने यो फिल्म छुट्दैन ।
योचाँही दयाहाङकै अगाडी नविन सुब्बालाई प्रश्न । केही वर्षअगाडी दयाहाङको सिनेमा र सिनेमा संख्यालाई हेरेर उनी अर्को राजेश हमाल भइसकेको भनेर टिप्पणी गर्नुभएको थियो । तर, धेरै ग्यापपछि आफै फिल्म बनाउँदा उहाँलाई नै लिनुभयो । यो बाध्यता हो या के ? सँगसँगै अर्को प्रश्न– अहिले पनि दयाहाङ अर्को राजेश हमाल भइसके भन्ने लाग्छ ?
नविन : पहिलो कुरा त, दयाजी आफैले आफूले गरेको अरु फिल्मभन्दा यसमा धेरै राम्रो काम भएको छ भनेर स्वीकारिसक्नुभयो । यो फिल्मचाँही नेपालका केही राम्रा समिक्षक र मेकरहरुले अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा हेरिसक्नुभएको छ । दयाको यो फिल्मको अभिनय अब्बल रहेको र परिपक्वता देखिएको उहाँहरुले बताउनुभएको छ । अर्को कुरा, जतिबेला मैले आलोचना गरेको थिएँ, त्यतिबेला दयाले गरिरहेको फिल्मको प्रकृति एकै प्रकारको थियो । तर, पछिल्लो चरण फेरि पनि दयालाई त्यहीँ भनिन्छ । अहिले दयाले गरेको फिल्महरुको विविधता हेरौं । उहाँले थकाली, माझी, गुरुङ, थारु, तामाङ, लिम्बु, भुजेल विभिन्न जातिको भूमिकामा काम गर्नुभयो । ति फिल्ममार्फत उहाँले थोरथोरै ति संस्कृतिका मूल्य मान्यता, सोच, जीवनशैली, विश्वासपद्धती लिएर आउनुभएको छ । उहाँको अभिनयहरु हेर्दाखेरी भिन्नता छैन र ? ‘जारी’ को ‘नाम्साङ’ र ‘डिग्री माइला’को ‘घामड’ चरित्रमा भिन्नता छैन र ?
भनेपछि उहाँप्रति तपाईको त्यो पुरानो धारणा बदलिसक्यो ? उहाँमा पुरै परिवर्तन आइसक्यो ?
नविन : हो । अहिले उहाँमा परिपक्वता देखिएको छ । परिपक्व अभिनय गर्न थाल्नुभएको छ । त्यतिबेला एउटै खाले कथा थियो, अहिले भिन्न भिन्न कथामा काम गरिरहेको भएको छ ।
यो दयाहाङको अभिनयमा आफ्नै फिल्म रिलिज हुँदै गर्दा भन्नुपरेको बाध्यता त होइन ?
नविन : हुँदै होइन । दयाले त्यतिबेला गरेको फिल्म र अहिलेको हेर्दा नै त्यो फरकपन प्रष्टै देखिन्छ । दयाजी आफैले पनि ‘नविन सुब्बाले यस्तो टिप्पणी गरेपछि मलाई मेरो दायित्वबोध भयो भनेर स्वीकार्नुभएको छ’ ।
तर, महिनैपिच्छे पर्दामा दयाहाङकै मात्र फिल्म रिलिज हुन पनि छाडेको छैन नि ?
नविन : दिनदिन आएपनि के फरक पार्छ त ? पर्दैन नि । कामको क्वालिटीको पो कुरा गर्ने हो त ।
दर्शकले बोर मानेका प्रतिक्रियाहरु पनि आइरहेका छन् नि ?
नविन : तपाई फिल्म क्षेत्रको राजनीतिको कुरा गर्नुहुन्छ भने म पनि राजनीतिक कुरा गर्छु । नत्र म उदाहरण दिन्छु । जस्तो, फिलिपिन्समा ‘पिटोपिटो’ भन्ने फिल्म बनाउँछ । सात दिनमा एउटा फिल्म आउँछ । कतिले खेल्छ ? बोर हुन्छ त ? अक्षय कुमारको झन्डै महिनाको एउटा फिल्म रिलिज हुन्छ, कसैले केही भन्छ ? हलिउडमा पहिले स्टुडियो सिस्टम हुँदा कलाकारहरुले महिनाको तीन–चारवटा फिल्म गर्नैपथ्र्यो । त्यसले केही फरक पा-यो ? त्यसैले पर्दामा एउटा कलाकारले भिन्न भिन्न कथामा भिन्न समुदायको भिन्न भिन्न चरित्रमा फिल्म गरिरहेको छ भने त्यसले के फरक पार्छ ? दयाहाङकै हकमा अस्ती ‘डिग्री माइला’ आयो, जसमा भुजेलको कथा थियो । त्यसपछि ‘मनसरा’मा ‘लिम्बु’को कथा आयो । ‘गाउँ आएको बाटो’मा राईको कथा आयो । हलसम्म नपुग्ने ति समुदायका मान्छेहरुलाई यि सिनेमाहरुले हलसम्म ल्याइरहेका छन् । यो कुरा खोइ बुझेको ? अब यसमा पनि आलोचना गर्ने हो भने त एउटा मान्छे अर्को चरित्र हुनै नसक्ने भयो । त्यसो भए एउटा मान्छेले एउटा फिल्मबाहेक अर्को फिल्म खेल्नैभएन । होइन भने फिल्म निर्देशक रोबर्ट ब्रिसोले भनेजस्तै एउटा मान्छेले दोश्रो चरित्र गर्नै सक्दैन भन्नुप¥यो । उहाँले ८४ वटा फिल्म बनाउनुभयो, कुनै फिल्ममा कलाकार दोहोराउनु भएन ।
दयाहाङ : नविन दाईको टिप्पणीले मलाई सच्चिन धेरै प्रेरित ग-यो । त्यसपछि समीक्षा गर्दै जाँदा मैले मेरो कमजोरी थाहा पाएँ । मैले गरेको चरित्रहरुको पृष्ठभूमि थिएन भन्ने महसुस गरेँ । पृष्ठभूमिविना कुनै पात्र त्यसै उभिएको हुँदैन नि । त्यसपछि मैले पात्रको पृष्ठभूमि तयार गरेर मात्रै काम गर्न थालेको छु ।
‘गाउँ आएको बाटो’मा तपाईलाई यसअघिका फिल्महरुमा भन्दा फरक देखाउन अभिनयमा धेरै काम भएको चर्चा छ । यतिसम्मकी दयाहाङको हिडाईमा परिवर्तन चप्पलसम्म त्यही हिसाबले डिजाइन गरिएको थियो ?
नविन : अभिनयमा दुइटा कुरा हुन्छ । भित्री र बाहिरी तह । हामीले दुवै तहमा काम गरेका छौं । सम्भवतः नेपाली फिल्ममै पहिलोपटक हामीले ‘टेक्स्ट एनलाइसिस’मा काम ग-यो । चरित्रको भित्री तयारी ग-यौं । पहिलेचाँही कुनै एउटा ‘माइला’ चरित्र गर्नुछ भने गाउँमा कुनै त्यस्तै पात्र खोजेर त्यसलाई नक्कल गर्ने काम गरिन्थ्यो । तर, हामीले त्यसो गरेनौं । स्क्रिप्टभित्रै बसेर भित्री तह निर्माण गर्ने काम ग-यो । दोश्रो, उहाँको हिडाई, बोलाइ, गेस्चर, पोस्चर सबैमा काम ग-यो ? के कारण उहाँको अभिनयको आलोचना हुन्छ, अहिलेसम्म प्राप्त उहाँको २० वटा जति फिल्म हेरेर ३० मिनेटको डकुमेन्ट्री बनायौं । त्यो उहाँ (दया)लाई देखायौं । पोजिटिभ पक्ष के छ, के के दोहोरिदो रहेछ, त्यो देखायौं । त्यसपछि कसरी सुधार्न सकिन्छ भनेर काम ग-यौं । हाम्रो कस्ट्युम डिजाइनरले एउटा यस्तो दुइतिर खियेको चप्पल लिएर आउनुभयो कि त्यहाँबाट दयाले आफ्नो हिँडाई पक्रनुभयो । त्यतिबेला उहाँको अभिनय संवेदनशिलता काम गरेको थियो । एकपटक दयाहाङ ‘दाइ, मैले मेरो एक्टिङमा के समस्या रहेछ, पत्ता लगाए नि’ भन्दै आउनुभयो । मैले सोधेँ– के रहेछ त ? जवाफमा उहाँले भन्नुभयो– ‘मेरो चरित्रहरुको पेशा निर्धारण हुँदैनरहेछ ।’ यो फिल्ममा पछि उहाँले १५ दिन लगाएर आफै ४–५ वटा डोको बन्नुभयो । त्यसैले म भन्छु– दयाहाङको अभिनय दोहोरियो भन्नेहरुले त झन् अनिवार्य ‘गाउँ आएको बाटो’ हेर्नुपर्छ ।
साँच्चै आफै बुन्नुभयो ?
दयाहाङ : बुनेँ । डोको बुने, चोया काटेँ, बास काटेँ । सबै गरेँ । काम गरिसकेपछि हरेक व्यक्तिको एउटा सिमितता हुन्छ । जो पनि ‘कम्फर्ट जोन’मा रहेर काम गर्छ । तर, यो फिल्ममा त्यस्तो भएन । स्क्रिप्टमा सबै काम गरिसकेपछि यो फिल्ममा मैले गरेको पात्र देखिँदाचाँही कस्तो देखिने भन्ने प्रश्न उठेको थियो । अझ फिपी बुन्ने अभ्यास गर्दाचाँही मैले मेरो आदत, शरीरको रिदम थाहा पाएँ । त्यतिबेला थाहा भयो कि– हामीले फिल्म गर्दा अधिकांश चरित्रको पेशा नै टुंग्याएका हुँदैन रहेछौं । त्यही नभएपछि उसको आधार नबन्दो रहेछ । एउटा सामान्य केही काम गर्छ भने पो उसको उद्देश्य हुन्छ । उद्देश्यबिहिन भएको चरित्र धेरै गरिएछ । तर, यो फिल्ममा ‘माइला’ बन्दा भाषादेखि पात्र निर्माणको सबै तयारी सक्दा करिब दुइ महिना लागेको थियो ।
जसरी दयाहाङले जन्मिएको धेरै उमेर बित्दासम्म गाडी देख्नुभएको थिएन, त्यस्तै दृश्य फिल्मको टिजरमा देखिएको छ । यो फिल्म तपाईको आफ्नै जीवनसँग कति नजिक छ ?
दयाहाङ : पृष्ठभूमिलाई हेर्दा खेरी यो फिल्मको कथा उस्ता उस्तै हो । समय फरक होला । अझ गाडीभन्दा बढी मेरो बुबासँगको कथामा बढी ‘कनेक्ट’ भयो । त्यो बेलामा मेरो गाउँमा बाटो त पुगेको थिएन तर गाउँमा बाटो आइपुगेपछि के के भयो मैले घरी घरी जाँदा मात्र देख्छु ।
यो फिल्ममा बुबा–छोरोको सम्बन्धको कथा छ । तपाईहरु दुवैको बुबा बितिसक्नुभयो । अहिले आफ्नो बुबालाई कसरी सम्झिनुहुन्छ ?
दयाहाङ : हेर्दाखेरी व्यक्तिगत गुनासाहरु धेरै छन् । बुबा खेतिकिसानी गर्नुहुन्थ्यो । एउटा यस्तो समयमा हामी हुर्कियौं, त्यतिबेला सँगैका साथीहरुका बुबा हुनेखाने हुँदा मलाई भने १०–२० रुपैयाँ आवश्यक पथ्र्यों । बुबासँग मुठ्ठी धानबाहेक केही हुन्थ्यो । त्यस्ता कुरामा गुनासो भए होलान् । तर, खुशी केमा लाग्छ भने मलाई मेरो बुबाले जीवनमा कहिल्यै पनि ‘तँ ठूलो भएर यो बन्नुपर्छ, त्यो बन्नुपर्छ’ भन्नुभएन । सायद त्यहीकारण आज म यस्तो हुन पाएँ ।
नविन : बुबा ५२–५३ कै उमेरमा क्यान्सरले बित्नुभयो । अहिले आमासँग जसरी समय बिताउन पाइएको छ, त्यसैगरी बुबासँग धेरै समय बिताउनुभएन । यसमा आफैसँग र बुबासँग पनि एउटा गुनासो छ । किनभने बुबा लाहुरे हुनुहुन्थ्यो । छुट्टीमा दुइ–तीन महिना आउनुहुन्थ्यो, फेरि गइहाल्नुहुन्थ्यो । बुबा–छोराबीचको सामिप्यताले चाँही मलाई बढी छोएको छ । सायद त्यो यो फिल्मको कथा भन्दै गर्दा पनि त्यो प्रतिबिम्बित भएको हुनुपर्छ ।
यो फिल्म गर्दैगर्दा त्यस्तो कुनै दृश्य छ, जहाँ तपाईले आफ्नो बुबा र छोरा दुवैलाई सम्झिनुभयो ?
दयाहाङ : छ तर त्यो म अहिले भन्दिनँ (हाँस्दै) । धेरै गाह्रो भयो । म यस्तो भुमरी फसेँ, एकातिर बुबालाई सम्झेँ, अर्कोतिर छोरालाई । रुन त रोइयो होला तर आँसु लुकाइयो ।
नविन र दयाहाङसँग लिइएको पुरा भिडियो अन्तरवार्ता हेर्नुहोस् :