चार दिनमै ४९ सयले घट्यो सुनको मूल्य-Sutra News

चार दिनमै ४९ सयले घट्यो सुनको मूल्य

शुक्रबार, ११ जेष्ठ २०८१

शुक्रबार, ११ जेष्ठ २०८१

काठमाडौं । स्थानीय बजारमा लगातार सुनको मूल्य ओरालोमा छ । सोमबारदेखि घट्न थालेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार पनि घटेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामै १८ सयको दरले घटेको छ । मूल्य घटेसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार नौ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य एक लाख ३६ हजार दुई सय ५० कायम भएको छ ।

महासंघका अनुसार सोमबार सुनको मूल्य हालसम्मको उच्च बिन्दु एक लाख ४१ हजार आठ सय रुपैयाँको बिन्दुमा पुगेको थियो । तर, त्यसयता चार कारोबार दिनकै बीचमा चार हजार नौ सय रुपैयाँले घटेको छ । जसआधारमा दैनिक औसत एक हजार दुई सयभन्दा बढीको दरले मूल्य घटिरहेको छ ।

महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै स्थानीय बजारमा मूल्य घटेको हो । मंगलबार देखि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर ओरालोमा छ ।

सुनको मूल्य घटिरहँदा चाँदीको मूल्य पनि घट्न थालेको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबारदेखि नै चाँदीको मूल्य पनि ओरालोमा छ । योबीचमा चाँदी तोलामै ८५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

बिहीबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट