नेकपा (एमाले) सत्ता समीकरणको प्रमुख साझेदार पार्टी हो । संसद्मा चलिरहेको छिनाझम्टीमा एमालेले सरकारको नेतृत्व गरिरहेको माओवादीलाई समेत उछिनेर प्रतिपक्षी कांग्रेसको तारोमा परेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोकेर हिँडिरहेको छ । यो सत्ता राजनीतिको भाग मात्र हो कि पार्टीगत र सार्वजनिकरूपमै एमालेले सचेततापूर्वक यस्ता गतिविधि गरिरहेको हो ?
२०८४ पछि निर्विकल्प शक्ति बन्ने घोषणा गरेको एमालेको रणनीति, भीम रावलको अवस्था, पार्टी एकता, ओलीपछि नेतृत्वमा देखिएको रिक्तता, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित सक्रिय राजनीति आदि विषय पनि एमालेसँग जोडिएका चासोका विषय हुन् । बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री रहिसकेकी नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग यी समग्र विषयमा सूत्र न्युजमा लागि सरोज कोइरालाले संवाद गरेका छन् । शाक्यसँगको संवादको सम्पादित अंश :
संसद्को पछिल्लो गतिविधिलाई पार्टीको उपाध्यक्षका हिसाबले कसरी हेर्नुभएको छ ?
संसद्मा जस्ता गतिविधि देखिँदैछन्, यो आजको नेपाललाई सुहाउने विषय होइनन् । हाम्रो पार्टी अध्यक्षमाथि समेत दुर्व्यवहार भएको छ । यस्तो हुनुहुँदैन । संसदीय अभ्यासको अनुभव नै नभएजस्तो भर्खर भर्खरको उरन्ठेउलो जोस जाँगर जस्तो देखियो । संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ हामी, संघीयता छ, समाजवादको लक्ष्य लिएर हिँडेका छौँ । संविधानको कार्यान्वयन गर्ने दायित्वका बीच समन्वय सहकार्यका साथ सबै सांसद, नेता हिँड्नुपर्ने बेलामा, त्यो चाहिँ देखिएन ।
सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको भए पनि सरकारका गृहमन्त्री रवि लामिछानेको बचाउमा एमाले उभिएको छ ? तपाईंको अध्यक्षले त काँधमै बोकेर हिँड्नु भएको छ, किन होला ?
गलत गरेको छ भने कसैले कसैलाई जोगाएर जोगिँदैन । एमाले त्यो पक्षमा छैन । तर, कांग्रेसले अति गरिरहेको छ नि, त्यो पनि सही होइन नि । विवाद त संसद्मा छलफल गरेर टुंग्याउनुपर्छ । सत्तापक्षले त्यो पहल गर्नुपर्ला तर, प्रतिपक्षले पनि त्यो वातावरण बनाउनु पर्छ नि । संसद् भनेकै प्रतिपक्षको हो ।
रास्वपा र रवि लामिछानेको साख गिराउन त पुराना दल नेता सबै लागेका छन् भन्नेहरू पनि छन् नि ?
मान्छेका विभिन्न दृष्टिकोण हुन्छन्, ति दृष्टिकोण उजागर हुनु अनौठो मान्नुहुँदैन । कसैले राम्रो मत लियो भन्दैमा अब २०८४ मा त्यो मत म लिन्छु भनेर हुँदैन । जनताको बीचमा पार्टी आफैं लोकप्रिय हुनुपर्छ । सांगठनिक हिसाबले, सैद्धान्तिक हिसाबले विचार र भावनाहरू जनताबीचमा लैजान सक्नुपर्छ । निर्वाचन प्रकृयामा अझै शुद्धता आएको छैन, छलछाम चलिरहेकै छ, विकृति छ । तर, त्यसो भन्दैमा अरुलाई गिराएर आफूमाथि उठिन्छ भन्नेमा हामी विश्वास गर्दैनौँ । एमाले स्वस्थ प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी हो ।
अहिले सबै दल एक अर्कोलाई साइजमा राख्ने रणनीतिमा देखिन्छन् । माओवादीलाई क्यान्टोनमेन्ट, एमालेलाई गिरीबन्धु, कांग्रेसलाई आरजुको फाइल खोल्ने सन्दर्भ अनि रास्वपालाई सहकारी । यी काण्डका नाम लिँदै एकले अर्कोलाई बार्गेनिङ गर्ने अनि एउटा बिन्दुमा पुगेर तैँ चुप, मै चुपको स्थिति त देखिइसकेको छ नि ?
बिल्कुलै ठिक भन्नुभयो । यो अहिले सुहाउने कुरा होइन । सत्ता भनेको मिलेर खाने कुरा होइन । यो देश र जनताका लागि काम गर्ने, निर्णय गर्ने, नीति निर्माण गर्ने ठाउँ हो ।
अनि एमाले जस्तो संगठन भएको, लोकप्रिय मत भएको पार्टी चाहिँ यस्तो यस्तो फोहोरी राजनीतिमा लागेको ?
यो समग्रमा गलत भइरहेको छ । हिजो हामी त्याग र बलिदानको राजनीति गरेर आयौँ । लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा सेवाको राजनीति, सत्ताको राजनीतिमा परिणत भएको छ । एमाले यसको पक्षमा छैन । तर, यसबारे आफ्नो पङ्क्तिलाई सचेत गराउन, प्रशिक्षित गराउन चाहिँ बाँकी रहेछ, प्रष्ट भन्नुपर्दा ।
यी विषयमा पार्टी अध्यक्षले तपाईंहरू नेता, कार्यकर्ताको कुरा सुन्नुहुन्छ ? तपाईँहरूले कत्तिको कुरा राख्नुहुन्छ ?
पहिले–पहिले कुरा राख्न अलि गाह्रो लाग्थ्यो, हाम्रो अलि नोकझोँक नै चल्थ्यो । पार्टी पनि झण्डै–झण्डै फुट्ने स्थितिमा पुग्यो । हामीले उहाँलाई अध्यक्ष भनेर मानिसक्यौँ । अहिले चाहिँ हामी छलफल गर्छौं ।
पार्टी त फुट्यो नि, तपाईँहरूले पो माधव नेपाललाई साथ दिनुभएन त !
पार्टीमा पर्याप्त छलफल हुनुपर्छ, सबैले स्थान पाउनुपर्छ भन्ने संघर्षमा हामी सँगै थियौँ । तर, हामी पार्टी फुटाउने पक्षमा कहिल्यै थिएनौँ । उहाँलाई सम्झाएका पनि हौँ तर, मान्नुभएन । माधव नेपालले गल्ती गर्नुभयो । कम्युनिष्टहरूले यसरी टुक्रे टाक्रे पसल थापेर बस्नुहुँदैन ।
तर, माधव नेपाल र एकीकृत समाजवादीका नेताहरू त एमालेमा तपाईँहरूको विजोग छ भन्नुहुन्छ नि ?
त्यो त उहाँहरूलाई लागेको कुरा हो, भनिरहरनु हुन्छ । पार्टी एक हुनुपर्ने अवस्था थियो, हामी फुटमा गएनौँ । उहाँहरूले यसको विश्लेषण नै गर्न सक्नुभएन ।
तपाईँहरूकै टिममा रहनुभएको भीम रावल किनारामा हुनुहुन्छ, उहाँको आफ्नै कारणले हो कि, पार्टी नेतृत्वले नै धकेलेको हो ?
यो अलि–अलि दुबै तिरको समस्या हो । केही बढी पार्टीको कमजोरी देख्छु । भीम रावल पार्टी छोडेर जानुभएको छैन । उहाँ सुदूरपश्चिमको नेता हो, पार्टीमा उहाँको आवश्यकता छ । उहाँलाई जिम्मेवारी दिनुपर्यो भनेर पार्टीमा भनेका छौँ, तर त्यो स्थिति बनेको छैन । भीमजीले पनि अलि साेंचेर अगाडि बढ्नुपर्छ । दुबैतिर लचक नभई वातावरण बन्दैन । अध्यक्ष पनि सकारात्मक नै हुनुहुन्छ, तर ढिला गर्नुहुन्न भन्ने हाम्रो भनाई हो ।
ओलीपछि एमालेको नेतृत्व को ?
नेता परिस्थितिले जन्मिन्छ । जतिबेला जे पर्छ, त्यतिबेला नेता जन्मिन्छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नै सक्रिय राजनीतिमा आएर नेतृत्व सम्हाल्नुहुन्छ भन्ने चर्चा कति साँचो हो ?
उहाँको इच्छा के हो थाहा छैन । उहाँले खुलेर भन्नुभाको पनि छैन । राजनीति गर्छुभन्दा संविधानले रोक्दैन । तर उहाँ जुन तह पुग्नुभयो, अब त्यहाँबाट तल आएर सक्रिय राजनीति गर्नुहुँदैन । पूर्व राष्ट्रपति पनि राष्ट्रपति सरह नै हो ।
पूरा संवाद हेर्न भिडियो हेर्नुहोस्