काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को आगामी जेठ २५ देखि गते प्रदर्शनमा आउँदै छ । यो फिल्मका लागि अभिनेता दयाहाङ राईले १२ केजी वजन घटाएका थिए । उनलाई फिल्ममा अनुबन्धित हुनु अगावै निर्देशक सुब्बाले १५ केजी घटाउन लगाएका थिए ।
यो फिल्मको विहिबार ट्रेलर सार्वजनिक कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा अभिनेता राईले आफूले २ महिनाको अवधिमा १२ केजी वजन घटाउन सफल भएको बताए । उनले यो फिल्म सन् २००९ तिरै बन्ने चर्चा सुनेका थिए । तर, त्यतिबेला यो फिल्मको अभिनेताको भूमिकामा आफू देखिन पाउँछु भन्ने उनले सोचेका थिएनन् ।
अभिनेता राई ले भने, ‘बुवा छोराको सम्बन्धमा फिल्म बन्दैछ भन्ने सुनेको थिएँ । तर, त्यतिबेला उमेरकै हिसाबले पनि मैले काम पाउँछु भनेर सोचेको थिएन, संयोग बस यतिबेला यो फिल्म बन्यो, र मैले यसमा काम गर्न पाएँ । यो फिल्मका लागि १२ केजी वजन घटाएको थिए ।’
साथै उनले, विश्व बजार पुगेको यस किसिमको फिल्मलाई नेपाली दर्शकले हेरिदिनुपर्ने बताउँछन् । दयाले अघि भने, ‘विश्व बजार पुगेको यो फिल्म धेरै दर्शकले हेरिदिनुभयो भने यस किसिमको फिल्म बनाउने फिल्मर्मीलाई उर्जा मिल्छ।’
यता निर्देशक सुब्बा दयाले यस फिल्ममा परिपक्व अभिनय देखिने दाबी गर्छन् । निर्देशक सुब्बाले भने, ‘यो फिल्म दयाले अत्यन्त अब्बल काम गरेको फिल्म हो, अन्य काममा पनि राम्रै काम गर्नुभएको छ । तर, यो फिल्ममा दयाको अभिनयमा आएको बदलाव देखिन्छ, परिक्व अभिनय छ ।’
फिल्ममा दयासँगै जोडी बाँधेकी अभिनेत्री पशुपति राईले पनि अभिनयको फरक पक्षलाई आफूले सिक्न पाएको बताइन् । उनले भनिन्, ‘१९ वर्षको अभिनयको यो यात्रामा अभिनयका पक्षमा म कहाँ छु त भन्ने खालको धरातल नै बदलिदिनुभयो नवीन दाइले, उहाँसँग अभिनयमा लिएर निकै गहिरो बहस गर्थ्यौं, त्यो गजब्बको सिकाइ रह्यो ।’
बाल-कलाकारको भूमिकामा देखिएका प्रसनले भने, ‘गाउँ आएको बाटो’मा काम गर्दा निकै रमाइलो भएको बताए । अभिनेता दयाहाङ छायांकन ताका प्रसनले आफूलाई चुनौति दिने किसिमको अभिनय गरेको पनि बताए ।
अमोद राई निर्माता रहेको यो फिल्मलाई निर्देशक सुब्बा र महेश राईले लेखेका हुन् । सामुदायिक लगानीमा बनेको यो फिल्मलाई विश्वका दर्शकले झैं नेपाली दर्शकले पनि मनपराइदिनेमा आशावादी रहेको निर्माता राई बताउँछन् । ‘यो फिल्म विश्वका प्रमुख फेस्टिभल घुमेर आफ्नै गाउँ फर्किएको छ । जसरी विश्वका दर्शकले यो फिल्मलाई राम्रो छ भनेर विश्वास गरिदिनुभयो, मनपराइदिनुभयो, त्यसरी नै घरेलु दर्शकले पनि मनपराइदिनुहुनेछ भन्ने आशावादी छौं,’ निर्माता राईले भने ।
यो फिल्मलाई अमेरिकन छायाँकार जोश हेरमले खिचेका हुन् । फिल्ममा हाइडी लीको संगीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरण, क्वान पुन लुङको सम्पादन छ ।
ट्रेलरमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई बाल कलाकार प्रसन राईको प्रमुख अभिनय देख्न सकिन्छ ।