काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य साकार बनाउन सकिने बताएका छन् ।
परराष्ट्र मामिला विभागले शुक्रबार बिहान आयोजना गरेको ‘बदलिदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयक राउण्ड टेबल बैठकमा प्रमुख डा. भट्टराईले छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न निरन्तर वार्ता र छलफल गरिनुपर्नेमा जोड दिए । वार्ता र छलफलले नै दुई देशबीचको समस्या समाधान हुने र सम्बन्धमा सुधार आउने उनको भनाई थियो । ‘अब आर्थिक कुटनीतिमा केन्द्रीत हुनुपर्छ,’ उनले भने, ‘मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता, कहिले कता झुकाव राख्न हुँदैन । वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक रूपमा हिंडाउनु पर्ने एमालेको नीति हो ।’
भट्टराईले भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक रहेको समेत चर्चा गरे। चीनसँग बीआरई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम लाभ लिनुपर्ने उनको भनाई थियो । ‘कसैको प्रभाव र दबाबमा नपरी नेपाल र नेपालीको हितमा हेर्ने एमालेको परराष्ट्र नीति रहेको छ,’ उनले भने।
बैठकको विदेश मामिला विभाग सचिव डा. अञ्जान शाक्यले सहजीकरण गरेका थिए भने विभागका सदस्यहरूले बदलिदो परिवेशमा एमालेको विदेश नीतिका बारेमा धारणा राखेका थिए ।