कमजोर पटकथाका भरमा फर्किए अनमोल, फर्किएला त स्टारडम ? [फिल्म समीक्षाः फर्की फर्की]-Sutra News

कमजोर पटकथाका भरमा फर्किए अनमोल, फर्किएला त स्टारडम ? [फिल्म समीक्षाः फर्की फर्की]

हेर्दामा गुड लुकिङ र कुल देखिएर मात्रै लामो रेसको घोडा बन्न सकिँदैन । यसका लागि आफ्नो अभिनयमा दम र फिल्मको कथा छनौटमा पनि परिपक्वता चाहिन्छ । फिल्म गर्दागर्दै बीस देखि तीस लागिसक्नुभयो, अब त चेत्ने कि ?

शुक्रबार, ११ जेष्ठ २०८१

शुक्रबार, ११ जेष्ठ २०८१

१४ महिनाअघि फिल्म ‘छड्के २.०’ फ्लप भएपछि अभिनेता अनमोल केसीले आफ्नो गल्ती स्वीकार्दै फेसबुकमा लेखेका थिए, ‘नवौँ सिनेमामा आइपुग्दा म झनै परिपक्व हुनु पर्ने थियो । यहाँ म चुक्न पुगेँ । आज म शून्यमा छु, र मेरो करिअरको पहिलो सिनेमा मेरो दशौँ सिनेमा हुनेछ अर्थात् मेरो करिअरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ ।’



त्यतिबेला उनले यो पनि भनेका थिए, ‘विश्वस्त हुनुस्, यो समय पनि बितेर जाने छ । घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुनेछ, म भोलिको सुनौली बिहानी मेरा दर्शकसँग साट्नेछु ।’ उनको यो भावुक वक्तत्व आएपछि धेरैलाई लागेको थियो- अब आउने उनको १० औँ सिनेमा ‘फर्की फर्की’ले डुब्दै गएको उनको फिल्म करिअरमा नयाँ बिहानी ल्याउने छ, उनको दुखेको घाउमा मल्हम लगाउने छ ।

फिल्मका मुख्य पात्रहरु चार जना घुम्न जाँदा सुजी भिरबाट खसेर लड्दा र मर्दाको दृश्यमा दर्शक भावुक हुनु पर्ने हो तर उल्टै हाँस्न सक्छन् । किनभने खासगरी यो फिल्मका घटनाक्रमहरु अनुभूत हुँदैनन् । दर्शकलाई ‘इमोसनल्ली कनेक्ट’ गराउन पूरै चुकेको छ यो फिल्म ।

तर, अनमोलले दाबी गरेअनुसार उनको करिअरको दोश्रो सुरुवात पनि सुखद् देखिएन । उनी अभिनित यो १० औँ फिल्म पनि नेपालमा विधागत फिल्म मेकिङका हिसाबले नयाँ अभ्यासमात्रै हुन पुगेको छ । त्यो पनि अपुर्ण र अपर्याप्त । एक–दुइ दिन हलमा मान्छे त ओइरेलान् तर नेपालमा पहिलोपटक बनेको यो ‘टाइम लुप’ सिनेमाले दर्शकको ‘टाइम इन्गेज’ गराउन सक्दैन ।

टाइम लुप सिनेमाको विशेषता के हो भने यसमा पात्रले फेरि त्यही गल्ती नदोर्‍याओस् भन्ने आशासहित बितेको समय बाँच्ने मौका बाँच्छ । यो फिल्ममा पनि अनमोलले निर्वाह गरेको पात्र माधव बस्नेत उर्फ म्याडीसँग त्यस्तै शक्ति छ । जब जब उसले गल्ती गर्छ, घडीको सुई फेरि फर्किएर पुरानै समयमा पुग्छ । त्यतिबेलासम्म उसले आफ्नो गल्ती पहिल्यै थाहा पाएर सच्याउने मौका पाइसकेको हुन्छ ।

यो फिल्मको सुरुवाती क्लबको दृश्य जति भव्य थियो, अन्त्य त्यति नै फितलो र निराशाजनक छ । अनमोलका अधिकांश फिल्ममा पाइने कमजोर पटकथा नै यो फिल्मको पनि मूल समस्या हो । पर्दामा देखिने कथा र यसका पात्रहरुसँग दर्शक रत्तिभर जोडिन सक्दैनन् । मूल पात्र न हामीले बाँचिरहेको जस्तो छ, न उसको जीवनमा घटिरहेका घटनासँग हामी ‘कनेक्ट’ हुन सक्छौँ ।

यो फिल्म खासगरी म्याडी (अनमोल), उनको साथी सुभाष (रवि काफ्ले), सायरा (जसिता गुरुङ) र सुजी (समृद्धि अर्याल) वरपर घुमेको छ । म्याडी सम्बन्धहरुप्रति इमान्दार छैन । एउटा इन्सुरेन्स कम्पनीको म्यानेजर छ तर क्लब जानु, युवतीहरुलाई फ्लर्ट गर्नु, मनमौजी बाँच्नु उसको परिचय हो । यसमा सधैँ उनलाई साथ दिने साथी छन्, सुभाष । विस्तारै सायरासँगको प्रेममा पर्छन् उनी । तर, जीवनमा गरिरहने गल्ती र बितेको समयमा फर्किरहने आदतका कारण म्याडी र उनका सम्बन्धहरु कहाँ पुग्छन् र कहाँबाट सुरु हुन्छन् ? खासगरी यिनै जिज्ञासा वरपर घुमेको छ यो फिल्म ।

यो फिल्मको सुरुवाती क्लबको दृश्य जति भव्य थियो, अन्त्य त्यति नै फितलो र निराशाजनक छ । अनमोलका अधिकांश फिल्ममा पाइने कमजोर पटकथा नै यो फिल्मको पनि मूल समस्या हो । पर्दामा देखिने कथा र यसका पात्रहरुसँग दर्शक रत्तिभर जोडिन सक्दैनन् । मूल पात्र न हामीले बाँचिरहेको जस्तो छ, न उसको जीवनमा घटिरहेका घटनासँग हामी ‘कनेक्ट’ हुन सक्छौँ । ‘मेरो लाइफमा पनि टाइम लुप हुन सक्छ है भनेर निर्देशकले दर्शकलाई अनुभूत गराउन सकेका छैनन् ।

पहिलो त दर्शकले फिल्मको समय अवधि नै बुझ्दैनन् । मुख्य पात्रले बाँचिरहेको त्यो टाइम लुप कति महिना या वर्षबीचको हो, त्यो नै खुल्दैन । म्याडीको बर्थडे सेलिब्रेसनबाट कति महिना वा दिनको कथा हो यो, त्यो नै प्रष्ट छैन । म्याडीको बेस्ट फ्रेन्ड भनिएका सुभाससँगको सम्बन्ध पनि अधकल्चो छ । सानोछँदा सधैँ म्याडीबाट हेपिने, कुटाई खाने सुभाष नै कसरी पछिसम्मको उसको निकटको साथी भइरहन्छ ? यो सम्बन्धलाई निर्देशकले राम्रोसँग प्रष्ट पार्न सकेका छैनन् । फिल्मका मुख्य पात्रहरु चार जना घुम्न जाँदा सुजी भिरबाट खसेर लड्दा र मर्दाको दृश्यमा दर्शक भावुक हुनु पर्ने हो तर उल्टै हाँस्न सक्छन् । किनभने खासगरी यो फिल्मका घटनाक्रमहरु अनुभूत हुँदैनन् । दर्शकलाई ‘इमोसनल्ली कनेक्ट’ गराउन पूरै चुकेको छ यो फिल्म ।

अंग्रेजी संवादको उस्तै बाढी छ, सामान्य दर्शकलाई बुझ्न गाह्रो । अनमोलले जसितालाई माफ माग्दाको दृश्य उस्तै भावनाविहीन छ । खासगरी यो फिल्मले कथाको संसार निर्माण नै गर्न सकेको छैन । फिल्मको दोश्रो हाफ त मेलो ड्रामा नै बनाउन खोजिएको प्रष्टै हुन्छ । फिल्ममा पात्रहरुको बिस्कुन छ तर कसैले छाप छोड्न सक्दैनन् । रुवाउनुपर्ने दृश्यमा पनि पात्रहरु मात्रै रुन्छन्, दर्शक त हाँस्छन् मात्रै ।

यो फिल्मको टार्गेट अडियन्स युवा हो, अहिलेको ओटिटी जेनेरेसन हो । जसले टाइम लुपको यो भन्दा राम्रा फिल्म र सिरिजहरु हेरिसकेको छ । यद्यपि, नेपाली फिल्मका लागि फेन्टासीको यो नयाँ जनरा चाहिँ हो । यो प्रयत्नका लागि निर्देशक सुयोग गुरुङ धन्यवादका पात्र हुन् ।

त्योभन्दा बढी धन्यवादका पात्र निर्माता हुन्, जसले फिल्ममा कन्जुस्याई नै नगरिकन लगानी गरेको प्रष्टै महसुस हुन्छ । फिल्मको केही प्राविधिक पाटोमा अब्बल काम भएको देखिन्छ । फिल्मको सिनेमाटोग्राफी, ब्याकग्राउन्ड स्कोर र साउन्ड डिजाइन भव्य छ । प्रोडक्सन डिजाइनको महिनेत पर्दामा राम्रोसँग मुखरित भएको छ ।

अनमोलको फिल्ममा अक्सर एउटा दृश्य दोहोरिरहन्छ । त्यो के भने अधिकांश फिल्ममा उ र उसको साथीहरु हिमाल देखिने ठाउँ घुम्न गएकै हुन्छन । अनि उ या उसको नजिकको कोही केन्द्रिय पात्र दुर्घटनामा पर्छ नै । यसअघि ‘जेरी’, ‘ड्रिम्स’ र ‘ए मेरो हजुर’ मा पनि यस्तै भएको थियो । यसलाई संयोगमात्रै त मान्न सकिँदैन यद्यपी यो फिल्म अनमोलका लागि यसअघि गरेका ९ वटा फिल्मभन्दा विशेष छ । कारण, ति फिल्मको तुलनामा उनको अभिनय यहाँ सुधारिएको छ । उनले यहाँ सम्हालिएर अभिनय गरेका छन् । उनको एटिट्युड र अदा म्याडीलाई सुहाएको छ । तर, यो पर्याप्त छैन ।

निर्देशकसँग सोध्न मन छ– यो फिल्मको आइडिया त टाइमलूप हो, कथाचाँही के हो ? अनमोललाई पनि सोध्नैपर्छ– यस्तै फिल्म गरेपछि गुमेको स्टारडम फेरि फर्किएला त ?

अनमोललाई प्रश्नमिश्रित सुझाव त दिनैपर्छ– हेर्दामा गुड लुकिङ र कुल देखिएर मात्रै लामो रेसको घोडा बन्न सकिँदैन । यसका लागि आफ्नो अभिनयमा दम र फिल्मको कथा छनौटमा पनि परिपक्वता चाहिन्छ । फिल्म गर्दागर्दै बीस देखि तीस लागिसक्नु भयो, अब त चेत्ने कि ? कति त्यही एटिट्युड, त्यही लभरब्वाय भएर बाँच्ने ? कति त्यही जेरी, होस्टेल मार्काकै फिल्म गरिरहने ?

एउटा पर्फेक्ट अभिनेता हुनलाई आकर्षक लुक्स भएरै मात्रै पुग्दैन, ऊ ‘एक्सप्रेसिभ’ पनि हुन सक्नुपर्छ । निर्वाह गरिरहेको क्यारेक्टरलाई केले निर्देश गरिरहेको छ ? यसका आवश्यकता केके हुन् ? यिनीहरु किन यसरी अभिनय गर्छन् ? चरित्रको पृष्ठभूमिका बारेमा ऊसँग राम्रो अध्ययन हुनुपर्छ। अनमोलको प्रयत्न त पर्दामा झल्किन्छ तर अझै फिल्म गर्नुअघि कथाको छनौट र पात्रको परिपक्व तयारीमा ध्यान दिनुपर्ने देखिन्छ ।

फिल्म जतिसुकै भव्य सेटमा खिचिएको होस्, जति करोड लगानीमा बनाइएको होस्, या जति झकिझकाउ नै किन नहोस्, त्यहाँ कथा नभएपछि त्यसको अर्थ छैन । किनभने कथा र दर्शकलाई जोड्ने खास पुल नै पटकथा हो । ‘फर्की फर्की’मा त्यसकै अभाव छ । निर्देशक गुरुङले एउटा नयाँ विधालाई नेपाली फिल्ममा परिचय गराउने साहस त गरे तर यसलाई राम्रोसँग पटकथामा रुपान्तरण गर्न भने नराम्रोसँग चुके ।

त्यसैले निर्देशकसँग सोध्न मन छ– यो फिल्मको आइडिया त टाइमलूप हो, कथाचाँही के हो ? सँगसँगै अनमोललाई पनि सोध्नैपर्छ– यस्तै फिल्म गरेपछि गुमेको स्टारडम फेरि फर्किएला त ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट