काठमाडौं । फिल्म समीक्षा प्रकाशन गरेको भन्दै चलचित्र ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले सुत्रन्यूजका प्रकाशक केशव खड्कालाई धम्की दिँदै गालीगलौज गरेपछि विज्ञप्ति जारी गरिएको छ ।
विज्ञप्तिमा नेपाली फिल्म ‘फर्की फर्की’माथि ‘कमजोर पटकथाका भरमा फर्किए अनमोल, फर्किएला त स्टारडम ?’ शीर्षकमा फिल्म समीक्षा प्रकाशन भएपछि निर्माता अधिकारीले अश्लिल र अमर्यादित भाषाको प्रयोग गर्दै धम्की र गालीगलौज गरेको र सामाजिक सञ्जालमा ‘बार्गेनिङ’ गरेको अफवाह फैलाउँदै मानहानी गरिरहेका उल्लेख गरिएको छ ।
साथै, अपरिचित व्यक्तिहरुले मेसेञ्जरमार्फत बारम्बार भौतिक आक्रमण गर्नेसम्मको धम्की दिइरहेका जनाएको छ । उक्त विज्ञप्तिमा समीक्षा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने जस्ता कानूनी प्रावधान हुँदाहुँदै धम्की दिने र फिल्मको समीक्षा रोक्ने प्रयत्न गर्ने जस्ता कार्यप्रति सूत्र मिडियाले कडा भाषामा निन्दा र भत्सर्ना गरेको छ ।
यस्तै, यस घटनाबारे चलचित्र पत्रकार संघ नेपालले समेत विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा भनिएको छ, ‘लेखेको समाचारमा चित्त नबुझे कानूनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै गाली गलौज गर्नु प्रेस स्वतन्त्राको विरोधी कार्य भएको संघको ठहर छ, यस विषयमा सम्बिन्धन करोकारवालाको ध्यान आकर्ष गराउन चाहन्छौँ ।’
सुत्रन्यूजकर्मी अनिल यादवले शुक्रबार लेखेको फिल्म समीक्षा प्रकाशन भएपछि फिल्मका निर्देशक अधिकारीले धम्की दिएका हुन् ।