काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको कार्यकक्षमा एक ट्रक धुलो उपहार पठाएको छ ।
काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धुलो र कष्ट खानु परेको भन्दै बालेनले यस्तो उपहार दिएका हुन् । उनले काम अगाडि नबढेसम्म पायक पर्ने ठाउँमा धुलो उपहार पठाउने जनाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालयअगाडि एक ट्रक धूलो खन्याएको भिडिओ सामाजिक सञ्जालमा राख्दै मेयर बालेनले चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्- माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ ज्यु !
तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ ।
काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँकै धुलोको हात छ । जसले गर्दा महानगरबासीले धुलो धुँवा खानु परेको छ । त्यो बाटो प्रयोग गर्नु पर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ । पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ ।
यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला ।