काठमाडौं । चलचित्र समीक्षा लेखेको भन्दै सुत्र न्यूजका सञ्चालक केशव खड्कालाई चलचित्र निर्माता रोहित अधिकारीले धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेश समितिले ध्यानाकर्षण गराएको छ ।
नेपाल पत्रकार महासंघको एसोसिएट संस्था चलचित्र पत्रकार संघका सदस्यसमेत रहेका खड्कालाई निर्माता अधिकारीले ज्यान मार्ने धम्की दिँदै गाली गलौज गरेका थिए । सुत्र न्यूजकर्मी अनिल यादवले लेखेको फिल्म ‘फर्की फर्की’को समीक्षाका विषयलाई लिएर अधिकारीले अनावश्यक आरोप लगाएका थिए ।
‘सुत्र न्यूजका सञ्चालकसमेत रहनु भएका नेपाल पत्रकार महासंघको एसोसिएट संस्था चलचित्र पत्रकार संघका सदस्य केशव खड्कालाई चलचित्र निर्माता रोहित अधिकारीले धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाली फिल्म ‘फर्की फर्की’माथि ‘कमजोर पटकथाका भरमा फर्किए अनमोल, फर्किएला त स्टारडम ?’ शीर्षकमा लेखेको समीक्षाका आधारमा शुक्रबार राति ९ः५० बजेबाट फिल्मका अधिकारीले तारान्तार अश्लिल र अमर्यादित भाषाको प्रयोग गर्दै धम्की दिएका थिए ।
यसका साथै निर्माता अधिकारीले सामाजिक सञ्जालमा ‘बार्गेनिङ’ गरेको अफवाह फैलाउँदै मानहानी गरेका थिए । प्रकाशित समाचारमा चित्त नबुझे कानूनी उपचार खोज्न नसकिने ठाउँ भए पनि धम्काएर तल्लो स्तरका शब्दहरु प्रयोग गरी गालीगलौज गर्ने कार्य खेदजनक भएको महासंघको ठहर छ ।
संगठनका महासचिव रोयल आचार्यले जारी गरेको विज्ञप्तिमा यस्ता घटना पुनः नदोहोराउन चलचित्र निर्माता अधिकारीलाई चेतावनी दिएको छ ।