काठमाडौं । दलितले सदियौँदेखि भोग्दै आइरहेको चरम विभेदलाई नेपाली सिनेमाले खासै स्थान दिएको पाइँदैन । जसरी समाजमा दलितप्रति विभेद हटेको छैन्, त्यसैगरी नेपाली सिनेमामा पनि त्यसको प्रभाव कायमै छ । नेपाली सिनेमाले प्रेमलाई विषय त बनाउँछ तर दलित-गैरदलितबीचको प्रेम देखाउने साहस कमैले गरेका छन् ।
यही सूचीमा निर्देशक दिनेश राउत थपिए । जसले पर्दामा दलित-गैरदलितबीचको अन्तरजातीय प्रेमको कथा भन्ने साहस गरे । यसअघि ‘प्रसाद’ बनाए । भलै यो फिल्ममा दलित र महिलाको चरित्रचित्रणलाई लिएर ठूलै प्रश्न खडा भयो । तर, यसपछि ‘पुजार सार्की’ बनाउँदै गर्दा अपेक्षा थियो- पुरानै गल्ती उनले दोर्याउने छैनन् ।
हल पुगेपछि त्यो अपेक्षा पूरै निराशामा बदलियो । फिल्ममा तीन कथित स्टारहरूको अनुहार कसरी बराबर देखाउने भन्नेमा बढी ध्यान दिँदा निर्देशक राउत दलितको मुद्दालाई न्यायसंगत ढंगले देखाउन चुके । यो फिल्म प्रचारको सुरुवातदेखि नै निर्माण युनिटले सत्य घटनामा आधारित भन्दै वैचारिक हिसाबले बहस छेड्दै आएकाले फिल्मलाई वैचारिक दृष्टिकोणबाट हेर्न जरुरी छ ।
हाम्रो समाजमा गैरदलितहरूलाई दलितहरूको श्रम र सीप स्वीकार्य छ, तर प्रेम बर्जित छ । ठकुरीसँग प्रेम गरेकै कारण पश्चिम रुकुमका नवराज विश्वकर्मा र उनलाई साथ दिने साथीहरूको हत्या त्यसको क्रुर र ताजा उदाहरण हो । सिनेमाको क्लाइमेक्समा यही हत्याको झल्को दिने दृश्य छ ।
सिनेमाभरि दलितलाई विभेद गर्ने उपल्लो जात ब्राहमण छ । तर, अन्त्यमा उसको हत्या गर्ने चाहिँ जनजाति देखिन्छ । सिनेमाको अन्त्यसम्म देखा नपर्ने भिड एक्कासी क्लाइमेक्समा प्रमुख पात्रलाई हत्या गर्न टुप्लुक्क आइपुग्दा यस्तो लाग्छ- नवराज विक हत्या सम्झाउन निर्देशकले जर्बजस्ती भिड खडा गरेका हुन् ।
सारमा यो कथा जति मिठो सुनिन्छ, त्यति सलल बगेको छैन । छरपस्ट छन्- पात्र र तिनका कथाहरू । नेपाली फिल्ममा तीन कथित स्टारहरू आर्यन, प्रदिप र पललाई पहिलोपटक एकसाथ फिल्ममा काम गराउन पाउँदा निर्माण युनिटले जति गौरवान्वित महसुस गरेको थियो, त्यही कारण गर्व गर्न लायक बन्नबाट चुकेको छ ।
यो फिल्मको सेटिङ ०४५/०४६ साल अर्थात् प्रजातन्त्र हुनुअघि र पछिको समय हो । कास्कीकोटको कथा हो यो । हरिद्वारमा पढेका पुजार (आर्यन सिग्देल) मन्दिरका पुजारी छन् । मन्दिरमै सरसफाई गर्ने मैया सार्कीसँग उनको प्रेम पलाएको छ । अर्का पात्र छन्, मैते (प्रदिप खड्का) । जो ‘कु’ जात होइन, ‘अ’ जात हुन रुचाउँछ ।
कारण, एउटा दमाई परिवारले उसलाई भेट्टाएर पालेका हुन्छन् । तर, मगरकी छोरी गौमायासँग उसको प्रेम टुसाएको छ । जसलाई विवाहमा फक्राउन चाहन्छन् उनी । तर, बाधक बनेको छ जात । त्यसैले बुबालाई सोधिरहन्छ- ‘मलाई कहाँ भेट्टाएको सम्झिनु न, कतै बाहुन/क्षेत्री नै पो हुँ कि !’
वेद पढेर भए पनि ब्राहमण बन्न तयार हुने मैते र शास्त्रमा नभएको विभेद मान्दिनँ भन्ने पुजारीले आफ्ना प्रेमिकालाई पाउन गर्ने संघर्ष नै यो फिल्मको कथा हो । पल शाहले निर्वाह गरेको पात्र मेघराज खत्री भने फिल्ममा भूमिगत भएर कम्युनिष्ट आन्दोलनमा हिँडेका छन् ।
क्रान्ति ल्याउन हिँडेका उनी विभेदविरुद्ध गाउँका उत्पीडितहरूलाई संगठित गरिरहेका छन् । मैते र मैयालाई अन्तरजातीय प्रेम सफल बनाउने आश्वासनसहित क्रान्तिको यात्रामा जोड्छन् । तर, सफल हुन्छन् ? तीन स्टारको फिल्म भनिएको यसको कथा यही प्रश्नको वरपर घुमेको छ ।
फिल्मले न अन्तरजातीय प्रेम नै महसुस हुने गरी देखाउन सकेका छ, न सिंगो समाजको संरचना नै । पात्रको उद्देश्य अन्तरजातीय विवाह थियो । तर, पुजारले एउटा गीतमै मैयालाई सिन्दुर लाइदिन्छन् । फिल्मको त्यति महत्वपूर्ण दृश्य निर्देशकले सहजै सम्भव बनाइदिएका छन् ।
तर, सारमा यो कथा जति मिठो सुनिन्छ, त्यति सलल बगेको छैन । छरपस्ट छन्- पात्र र तिनका कथाहरू । नेपाली फिल्ममा तीन कथित स्टारहरू आर्यन, प्रदिप र पललाई पहिलोपटक एकसाथ फिल्ममा काम गराउन पाउँदा निर्माण युनिटले जति गौरवान्वित महसुस गरेको थियो, त्यही कारण गर्व गर्न लायक बन्नबाट चुकेको छ- यो फिल्म । निर्देशकको ध्यान तीन स्टार नचिढिने गरी कसरी बराबर सिन दिने भन्नेतिर केन्द्रित हुँदा फिल्मले दर्शकलाई भावनात्मक रुपमा जोड्न सकेको छैन ।
दुई जोडीको अन्तरजातीय प्रेम त देखाइएको छ । तर, दर्शकको मन हुँडल्ने गरी पर्दामा स्थापित हुन सकेको छैन । पर्दामा उनीहरूको प्रेम देखेर दर्शकलाई ‘यी दुईको बिहे भइदिए हुन्थ्यो’ भन्ने भाव पलाउँदैन । पात्रहरू विद्रोह गरेर अन्तरजातीय विवाह त गर्न चाहन्छन् । तर, त्यसका लागि कुनै ठोस संघर्ष छैन ।
फिल्मले न दुईबीचको अन्तरजातीय प्रेम नै महसुस हुने गरी देखाउन सकेका छ, न सिंगो समाजको संरचना नै । पात्रको उद्देश्य अन्तरजातीय विवाह थियो । तर, पुजारले एउटा गीतमै मैयालाई सिन्दुर लाइदिन्छन् । फिल्मको त्यति महत्वपूर्ण दृश्य निर्देशकले सहजै सम्भव बनाइदिएका छन् ।
नागरिकता बनाउन आउने टोलीले थर सोध्दा पुजारले सार्की भनेपछि उनको थर फेरिएको देखाइएको छ । अहिले त देखिँदैन झन् त्यो समयमा त्यति सहजै कुनै ब्राहमणले आफ्ना थर फेर्यो होला ? निर्देशकलाई प्रश्न गर्न मन लाग्छ । प्रहरीको गोली लागेर मेघराजकी आमा बित्छिन् । तर, त्यसले न पर्दामा केही प्रभाव पार्छ, न पर्दाबाहिर नै । विवाहको सपना देखिरहेको मैते एक दृश्यमा प्रेमिकाका अघि लाचार भएर रोइरहेको हुन्छ । उनीहरूको प्रेम पृष्ठभूमि पर्दामा स्थापित हुन नसक्दा दर्शक उल्टै हाँस्छन् ।
सबैभन्दा विचारणीय त के छ भने फिल्ममा दलितको मुक्ति र आन्दोलनका लागि होमिने र जात व्यवस्थाविरुद्ध लड्ने अगुवाहरु ब्राहमण छन् । दलित पात्रहरू त आफ्ना अधिकारका लागि आफै लड्न नसक्ने निरिह देखाइएको छ । दलित अगुवाहरूले फिल्म हेरे भने पक्कै यसले बोक्ने राजनीतिक अर्थमाथि बहस छेडिने छ ।
फिल्मले दलितको मुद्दा बोकेको भनिए पनि बढी हिन्दु धर्मको संस्कार, संस्कृति र वेदकै पैरवी गरेको छ । दलितहरूप्रति दयाको भावले चरित्रचित्रण गर्ने नेपाली फिल्ममेकरको पुरानै रोग हो । बढी गैरदलित मेकरले दलितको विषय उठाउँदा यो भाव बढी प्रतिबिम्बित भइरहेको छ । उसलाई लाग्छ- यो समुदायको मैले संरक्षण गर्नु पर्छ, उद्दार गर्नु पर्छ । त्यही सहानुभूतिको दृष्टिकोणबाट निर्देशित भएर सिनेमा बनाउँदा दलितको यथार्थ देखाउन फिल्ममेकर चुकिरहेका छन् । यो समस्याबाट ‘पुजार सार्की’ पनि अछुतो देखिएन ।
फिल्ममा मैते र मैयालाई पूरै ‘विचरा’ पात्रका रुपमा देखाइएको छ । मैते मगर युवतीलाई मनपराउँछ । तर, त्यसका लागि ऊ आफै केही संघर्ष या विद्रोह गर्न सक्दैन । कहिले पुजार त कहिले मेघनाथ, ब्राहमण पात्रकै साहारा खोजेको देखाइएको छ । कम्युनिष्ट पार्टीमा भित्रिएपछि पनि उसको पात्रमा विकास भएको देखाइएको छैन । कथित उच्च जातका मान्छेहरुका अगाडि परै बसेर कुरा गर्न उसले छाडेको छैन ।
सबैभन्दा विचारणीय के छ भने फिल्ममा दलितको मुक्ति र आन्दोलनका लागि होमिने र जात व्यवस्थाविरुद्ध लड्ने अगुवाहरू ब्राहमण छन् । दलित पात्रहरू त आफ्ना अधिकारका लागि आफै लड्न नसक्ने निरिह देखाइएको छ । दलित अगुवाहरूले फिल्म हेरे भने पक्कै यसले बोक्ने राजनीतिक अर्थमाथि बहस छेडिने छ ।
फिल्ममा निर्देशकभन्दा पनि लेखक हाबी देखिन्छ । त्यसैले फिल्मभरि दृश्य भाषाभन्दा बढी संवादको भाषा छ । सबै पात्रहरू कास्कीकोटको स्थानीय लवज बोल्छन् । प्रदिपको अभिनयले कहीँ कहीँ ‘ह्युमर’ त पैदा गर्छ । तर, उनी रंगमञ्चमा अभिनय गरे झै ‘लाउड’ देखिएका छन् । आर्यन चाहिँ अभिनयमा अलि बढी नै ‘शान्त’ देखिएका छन् । पल ठिकै लाग्छन् । तर, उनको ‘डायलग डेलिभरि’ प्रष्ट छैन ।
फिल्मका सहायक पात्रहरूको अभिनय बुलन्द लाग्छ । दमाई पात्रका रुपमा सुवास गजुरेल जीवन्त देखिएका छन् । अन्जना बराईली, परीक्षा लिम्बु, प्रेम सुब्बा पनि पर्दामा बिझाउँदैनन् । फिल्मका छायाकार र सम्पादक पनि तीन स्टारलाई सम्मानजनक स्थान दिने निर्देशकको रणनीतिलाई सघाउन सफल देखिएका छन् ।
यो फिल्मको सबैभन्दा राम्रो पक्ष भनेको दुइटा गीत हो- ‘जाउ माया’ र ‘रिमाई’ । कथाले नबोके पनि गीतले दलितको मुद्दाको मर्म बोकेझै लाग्छ । यो फिल्मभित्र सत्तामा पुग्नका लागि राजनीतिक दलहरूले विभिन्न कम्युनिष्ट आन्दोलन र क्रान्तिका नाममा दलितको मुद्दा भजाएको देखाइएको छ । तर, विडम्बना निर्देशक स्वयमले फिल्म चलाउनका लागि स्टार अनुहार देखाएर दलितको मुद्दा भजाएका छन् ।