सदनमा कांग्रेसको सहयोग खोज्दै प्रचण्ड-Sutra News

सदनमा कांग्रेसको सहयोग खोज्दै प्रचण्ड

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । आइतबार बिहान देउवा निवास बूढानीलकण्ठमै पुगेर प्रधानमन्त्री प्रचण्डले देउवालाई भेटेका हुन् ।



संसदमा देखिएको गतिरोध अन्त्य गर्ने सन्दर्भमा देउवासँग छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पारित गर्ने तयारी सत्ता पक्षको छ । यद्यपि, नेपाली कांग्रेस भने उपप्रधान तथा गृहमन्त्री मुछिएको सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरोध गर्दै आएको छ ।

समिति गठनमा सहमत भएपनि दलहरुबिच समितिको कार्यादेश (टीओआर)को विषय भने टुंगो लाग्न सकेको छैन । शनिबार बसेको कार्यदलको बैठकले टीओआरमा करिब सहमति गरेको छ ।

कार्यदलले टीओआर टुङ्ग्याउने जिम्मा शीर्ष नेताहरूलाई नै दिएको छ । आइतबार शीर्ष नेताहरू बसेर त्यसलाई टुङ्गोमा पुर्‍याउने बताइएको छ ।

संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने भन्दै गत चैत २ गतेदेखि कांग्रेसले लगातार प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

कांग्रेसले आज नै केन्द्रीय राजधानी काठमाडौं केन्द्रीत प्रदर्शनको पनि तयारी गरिरहेको छ । यस्तोमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेट पारितको सन्दर्भमा कांग्रेससँग सहमति खोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट