पुरानै अडानमा फर्कियो कांग्रेस, सहमतिको सम्भावना थप कमजोर-Sutra News

पुरानै अडानमा फर्कियो कांग्रेस, सहमतिको सम्भावना थप कमजोर

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै आइरहेको नेपाली कांग्रेसले व्यक्ति केन्द्रीत छानबिन समितिकै मागलाई पुनः दोहोर्‍याएको छ । आइतबार बिहान बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले सहकारी प्रकरणमा व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानलाई कायमै राख्ने निर्णय गरेको हो ।



कांग्रेसका सहमहामन्त्री जीवन परियारका अनुसार व्यक्तिको नाम उल्लेख नगरी छानबिन समिति गठन हुन नसक्ने निर्णय बैठकले लिएको छ ।

“संस्थाको नाम मात्र लिएर पुग्दैन, कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरु को–को हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ”, बैठकको निर्णयबारे परियारले भने, “उहाँहरु त एकपछि अर्को गरी कसरी हुन्छ, उम्किने बाटोतिर जाने कोसिस गर्दै हुनुहुन्छ, त्यसप्रति हामी सचेत छौं ।”

यसअघि कांग्रेसले उक्त अडानलाई छाड्दै लामिछाने मुछिएका सहकारीको नाम लेख्नुपर्ने प्रस्ताव कार्यदलको बैठकमा गरेको थियो ।  व्यक्ति केन्द्रीत मागबाट कांग्रेस पछि हटेसँगै सहमतिको अवस्था सिर्जना भएको नेताहरुले बताएका थिए ।

कांग्रेस लचक भएसँगै कार्यदलमा पनि कार्यादेशको अन्तिम रुप शीर्ष नेताहरुबाट टुंग्याउने सहमति बनेको थियो । यद्यपि, कांग्रेसले अडान फेरेसँगै सहमतिको सम्भावना कमजोर भएको छ ।

शीर्ष बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानिकलण्ठ पुगेका थिए । झण्डै ४० मिनेटसम्म भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट पारित गर्ने अवस्था बनाइदिन आग्रह गरेका थिए । प्रधानमन्त्रीको सचिवालयले बताएअनुसार पार्टी सभापति देउवाले शीर्ष नेताहरुसँग छलफल गरेर निर्णय लिने आश्वासन प्रधानमन्त्रीलाई दिएका थिए ।

कांग्रेसले लिएको अडानमा विपक्षी बेन्चमा करिब सबैजसो पार्टीहरु सहमत छन् ।

सम्बन्धित समाचार

सदनमा कांग्रेसको सहयोग खोज्दै प्रचण्ड

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट