काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीलाई वेवास्था सभामुख देवराज घिमिरेले संसद बैठक अगाडि बढाएका छन् । कांग्रेसको नाराबाजीकै बीच सदनमा अर्थमन्त्री वर्षमान पुन अनन्तले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८१ पेश गरेका छन् ।
यसअघि कांग्रेसले अर्थमन्त्री पुनलाई रोष्टममा जान रोकेको थियो । यद्यपि, मर्यादा पालक लगाएर उनलाई रोष्टममा पुग्ने व्यवस्था गरिएको थियो ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । सदनमा कांग्रेसले छानबिन समिति नबनी संसद बैठक चल्न सहयोग नगर्ने बताएको छ ।
कांग्रेसको मागमा विपक्षी अन्य दलहरु राप्रपा, जसपा नेपाललगायतले पनि सहयोग गरेका छन् ।
यसअघि संसदमा विशेष समय लिएर बोलेका राप्रपाका प्रवत्ता ज्ञानेन्द्रबहादुर शाहीले लामिछाने स्वयम्ले छानबिन समिति बनाउन सघाउन पर्ने बताएका थिए । युवाहरुमा बढेको निराशालाई सम्बोधन गर्न पनि लामिछानेले मार्ग प्रशस्त गर्नुपर्ने शाहीको भनाई छ ।