काठमाडौं । आइतबार बसेको संसद् बैठकबाट आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम पारित भएको छ । यद्यपि, नीति तथा कार्यक्रम पारित हुँदै गर्दा सदनको अवस्था भने सामान्य थिएन । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि छलफल चलाइरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस बेल घेराउ गर्दै नाराबाजी गरिरहेको थियो ।
मर्यादा पालकको बाक्लो उपस्थिति गराएर नीति तथा कार्यक्रमलाई प्रक्रियामा लगिएको थियो । जुन प्रक्रियामा सहभागि हुन स्वयम् सत्ता पक्षलाई निकै सकस बनेको देखिन्थ्यो । सत्ता पक्षलाई रोष्ट्रममा पुग्न मर्यादा पालकको बाक्लो घेरा बनाइएको थियो ।
नीति तथा कार्यक्रममाथिको छलफल प्रक्रिया र पारित प्रक्रियामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहभागि भएन । कांग्रेसको नाराबाजीकै बीच सभामुखले ठूलो स्वरमा ‘हुन्छ भन्ने पक्षको बहुमत’ भएको भन्दै पारित भएको घोषणा गरेका थिए ।
बजेट पारित गर्न दुवै सदनको संयुक्त बैठक जेठ १५ गतेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी सहभागि नभई नीति तथा कार्यक्रम पारित भइरहँदा आगामी बजेट पनि सोही शैलीमा नै पारित हुने सम्भावना बढी छ । किनकी देखिएका विवादमा प्रगति भएको छैन ।
सहमति खोज्दै प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता पक्ष र प्रतिपक्षीबीच देखिएका विवादलाई समाधान गर्ने प्रयत्नमा देखिएका छन् । उनले प्रतिपक्षीसँगको संवादलाई पनि बढाएका छन् । आइतबार सदनमा नीति तथा कार्यक्रम प्रस्तुत हुनु अघि प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास पुगेका थिए ।
आइतबार बसेको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्ड निकै लचिलो शैलीमा देखिएका थिए । उनले बजेट व्यक्तव्यअघि विवाद समाधान भइसक्ने धारणा राखेका थिए ।
“मैले केही दिनदेखि लगातार सहमतिको प्रयास गरिरहेको छु, गतिरोध अन्त्यका लागि प्रयास भइरहेको छ, सहमति र समझदारीको धेरै नजिक पुगेको थाहा छ”, सदनमा सम्बोधनका क्रममा प्रधानमन्त्रीले भनेका छन्, “कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेतासँग बूढानीलकण्ठमा पुगेर सहमतिको प्रयास गरेको छु । आज वा भोलि बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति जुट्ने विश्वास व्यक्त गर्छु ।”
प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा छानबिनका लागि बनाउन खोजिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा करिब सहमति जुटिसकेको बताएका छन् । उनले सबै लचिलो भएर सहमति खोज्नुको विकल्प नभएको बताएका छन् । उनले सत्ता साझेदार र प्रतिपक्षीलाई सहमतिको लागि लचक हुन आग्रह पनि गरेका छन् ।
उनले बजेट पारित गर्दै गर्दा विपक्षी दलहरूको सहभागिता खोजिरहेका छन् । संसद्मा सम्बोधनका क्रममा पनि प्रधानमन्त्री प्रचण्डको भनाई निकै लचिलो र सहमति खोज्ने कोणबाट आएको छ ।
तर, विवाद बढाउने बहाना खोज्दै एमाले
प्रधानमन्त्री सहमतिको वातावरण खोजिरहँदा सत्ताको मुख्य साझेदार एमाले भने विवाद समाधान होइन बढाउने शैलीमा देखिएको छ । एमाले प्रतिपक्षीलाई पेलेरै अघि बढ्नुपर्ने शैलीमा प्रस्तुत भएको छ ।
सदनमा सम्बोधनका क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसको विरोधमाथि आलोचना मात्रै गरेनन् नीति तथा कार्यक्रम पारित गराउनुमा फाइदा हुने भन्दै व्यंग्य गरे । उनले कांग्रेसको विरोध औचित्यहीन भएको बताए ।
“नीति तथा कार्यक्रमले समग्रमा धेरै विषय समेटेको छ, सहकारीको समस्याबारे पनि स्थायी रुपमा समाधान गर्ने उपाय खोजेको छ”, सदनलाई सम्बोधन क्रममा पौडेलले भनेका छन्, “ वेल घेरेर नारा लगाउनेभन्दा ताली बजाएर नीति तथा कार्यक्रम पारित गर्नुस् ।”
पौडेलले व्यंग्य गरिरहँदा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि कांग्रेसको विरोध अर्थहीन भएको भन्दै टिप्पणी गरेका छन् । सदनमा नाराबाजीको अर्थ नहुने टिप्पणी बर्तौलाको छ । अर्थमन्त्री पुनले कानमा कपास राखेर भएपनि बजेट पढ्ने बताएका छन् ।
“कांग्रेसको अवरोध र नाराबाजी भइराख्यो भने पनि अरु बाटोभन्दा संसदभित्रबाटै बजेट आउँछ”, उनले भनेका छन्, “अर्थमन्त्रीले नाराबाजीका बीचबाट पनि नाराबाजीले डिस्टर्ब र असहज भयो भने कानमा कपास राखेर भने पनि बजेट पढ्नुपर्ने हुन्छ, अरू बाटोमा जान्दैनौँ ।”
सरकारमा नहुँदाको पीडा पोखिरहेको भन्दै बर्तौलाले कांग्रेसको उछितो काढेका छन् । “कांग्रेसको अडान सरकारमा नरहँदाको पीडाबोध मात्र हो, यति महत्त्वपूर्ण छलफल भइरहँदा अशिष्ट र अमर्यादितरूपमा कांग्रेस पेश भइरहेको छ”, उनले भनेका छन् ।
यसअघि गत शुक्रबार बसेको संसद् बैठकमा पनि कांग्रेसलाई बोल्न नदिएर चिढ्याउने काम भएको थियो । सभामुखले बिना कारण संसद् बैठक स्थगित गरिदिएका थिए । जुन घटनालाई कांग्रेस नेताहरूले सभामुख एमाले भएको भन्दै विरोध गरिरहेका छन् ।