चार करोड मूल्यको कोकिन ल्याउने विदेशी महिला पक्राउ-Sutra News

चार करोड मूल्यको कोकिन ल्याउने विदेशी महिला पक्राउ

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१

काठमाडौं । अवैध लागु औषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य एक किलो १०१ ग्राम कोकिनसहित ठमेलबाट पक्राउ परेकी छन् ।



पौने चार करोड रुपैयाँ बराबरको लागु औषध कोकिनसहित विदेशी महिलालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कङ्गोलिज नागरिक ४९ वर्षीय एपुला इकुट्सु एमबोङ्गो रहेकी छन् ।

लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी लागु औषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी सदस्य हुन् । दुबईबाट काठमाडौं आएकी उनलाई एक होटलमा बसिरहेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए ।

उनीमाथि शंका लागेपछि प्रहरी महिलालाई विमानस्थलबाट पछ्याउँदै ठमेल पुगेको थियो । तलासी लिँदा उनको ह्याण्ड ब्यागभित्र प्लाष्टिकको झोलामा र्‍यापिङ गरिएका कोकिनका क्याप्सुलहरू बरामद भएको कार्कीले बताए ।

बरामद कोकिनको अवैध बजार मूल्य करिब तीन करोड ८५ लाख रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलालाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट