टी २० विश्वकप खेल्न अमेरिका जाने सन्दीपको भिसा अनिश्चित, अबको कदम के होला ?-Sutra News

टी २० विश्वकप खेल्न अमेरिका जाने सन्दीपको भिसा अनिश्चित, अबको कदम के होला ?

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१

काठमाडौं । बलात्कार अभियोगमा उच्च अदालतबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रक्रियाबारे काठमाडौंस्थित अमेरिकी दूतावासले कुनै प्रतिक्रिया दिएको छैन ।



नेपाल क्रिकेट संघ (क्यान), युवा तथा खेलकुद मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले नेपालस्थित अमेरिकी दूतावाससँग समन्वय गरे पनि आजसम्म कुनै प्रतिक्रिया नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले गत शुक्रबार अमेरिकी दूतावासका डीसीएम र कन्सुलर चिफलाई बोलाएर मन्त्रालयमा छलफल गरेका थिए ।

उक्त छलफलमा परराष्ट्र मन्त्रालयले लामिछानेलाई भिसा नदिनु कारणबारे सोधे पनि जवाफमा दूतावासले आफ्नो भिसासम्बन्धि नीति नियमको बारेमा जानकारी गराउँदै थप कुरा पछि गर्ने प्रतिक्रिया दिएको थियो ।

टी २० विश्वकपको आयोजक अमेरिकाले भिसा नदिएर लामिछानेको सहभागी अनिश्चित बन्दै गरेको अवस्थामा क्यानले वेस्ट इण्डिजमा मात्रै भए पनि खेलाउने तयारी गरेको छ ।

नेपालले टी २० विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा अमेरिकी भूमिमा खेल्दा वेस्ट इण्डिजमा बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्ने तालिका छ । अमेरिकाले भिसा नदिएपछि लामिछानेलाई वेस्ट इण्डिजमा हुने बंगलादेश र दक्षिण अफ्रिकासँगको खेलमा सहभागी गराउने गरी तयारी भएको हो ।

अहिले विश्वकपका लागि नेपालको घोषित टोलीमा १४ जना मात्रै समावेश गर्ने र लामिछानेको भिसाको निर्णय भएपछि १५ औँ खेलाडीको टुंगो लगाउने गरे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट मौखिक अनुमति पाइसकेको छ ।

लामिछानेले अमेरिकाको भिसा नपाए वेस्ट इण्डिजमा खेलाउने तयारी भइरहेको क्यानले जनाएको छ । योसँगै उनको भिसाका लागि सरकारसँगको समन्वयमा पहल गरिरहने जनाएको छ । यसअघि वेस्ट इण्डिजको घरेलु क्यारेबियन प्रिमियर लिगमा सहभागी भइसकेका लामिछानेको यात्रा सहज हुने क्यानको विश्वास छ ।

समूह ‘डि’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा एसोसिएट्स मध्येकै उत्कृष्ट नेदरल्यान्ड्सलाई पराजित गर्न सके टी २० विश्वकपको दोस्रो चरण सहज हुने टिमको आंकलन छ ।

अमेरिका जान नपाए पनि वेस्ट इण्डिजमा हुने दुई देशविरुद्धको खेलमा लामिछाने उपलब्ध भए टिमको मनोबल उच्च हुने देखिन्छ । अमेरिकाविरुद्ध मैत्रीपूर्ण दुवै खेलमा पराजित भएको बंगलादेशको खराब फर्मले नेपाली टिम उत्साहित देखिएको छ ।

तीन महिनाअघि त्रिवि क्रिकेट मैदानमा नामिबियासमेत सम्मिलित त्रिकोणात्मक टी २० सिरिजमा प्रतिस्पर्धामा नेदरल्यान्ड्सले नेपाललाई दुई खेलमा पराजित गर्दै त्रिकोणात्मक सिरिजको उपाधि जितेको थियो ।

नेदरल्यान्ड्सलाई पहिलो खेलमै पराजित गर्न सके नेपालले खेलहरू आफ्नो पक्षमा पार्दै सुपर आठको यात्रा तय गर्ने सम्भावना बढ्दा त्यसको ठिक उल्टो नेदरल्यान्ड्ससँगै पराजित बने नेपालको अघिल्लो चरणको यात्राको सम्भावना कठिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट