सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, वर्ष दिनमै थपियो साढे दुई खर्ब-Sutra News

सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, वर्ष दिनमै थपियो साढे दुई खर्ब

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१

काठमाडौं । सरकारी कार्यालय, संगठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहको बेरुजु ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ ।



आज सार्वजनिक भएको महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९–८० मा मात्रै दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ ।

प्रतिवेदनअनुसार संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ महालेखा परीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु छ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ ।

त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनु पर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनु पर्ने रकम पाँच खर्ब १३ अर्ब ४० करोड ४३ लाख रहेको छ । यसरी अद्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनु पर्ने रकम ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख पुगेको हो ।

अद्यावधिक बेरुजुतर्फ संघीय सरकारी कार्यालयको तीन खर्ब ४२ अर्ब ६६ करोड ९१ लाख, प्रदेश सरकारी कार्यालयको २८ अर्ब ४६ करोड ८४ लाख र स्थानीय तहको बेरुजु एक खर्ब ९३ अर्ब ४५ करोड ८३ लाख बराबर छ । अन्य संस्था तथा समितिहरूको अद्यावधिक बेरुजु एक खर्ब पाँच अर्ब २६ करोड ८१ लाख बराबर छ ।

कारबाही गरी टुंगो लगाउनु पर्ने रकमतर्फ लेखापरीक्षण बक्यौता नौ अर्ब ८७ करोड ५५ लाख, राजस्व बक्यौता चार खर्ब ३५ अर्ब ४२ करोड ८२ लाख, शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान १६ अर्ब नौ करोड ४५ लाख, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण पाँच अर्ब ५९ करोड ३४ लाख र जमानत बसी दिएको ऋणको भाखा नाँघेको साँवा ब्याज ४६ अर्ब ४१ करोड २७ लाख बराबर छ ।

यो वर्ष संघीय मन्त्रालय तथा निकाय मातहतका तीन हजार ३७७ कार्यालयको २४ खर्ब ६१ अर्ब ११ करोड, प्रदेश मन्त्रालय तथा निकाय मातहतका एक हजार २७० कार्यालयको ३ खर्ब २३ अर्ब ३४ करोड र ७४६ वटा तहको ११ खर्ब ३९ अर्ब १९ करोड बराबरको लेखापरीक्षण गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, २१७ वटा समिति र अन्य संस्थाको दुई खर्ब ९६ अर्ब ८५ करोड तथा ९३ वटा सङ्गठित संस्थाको ३६ खर्ब ६१ अर्ब ११ करोड बराबरको लेखापरीक्षण भएको छ । यसरी आर्थिक वर्ष २०७९–८० मा भएको कूल लेखापरीक्षण रकम ७८ खर्ब ८१ अर्ब ६० करोड बराबर हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट