पहिरोमा परी मृत्यु हुनेको संख्या ६७० भन्दा बढी पुग्यो-Sutra News

पहिरोमा परी मृत्यु हुनेको संख्या ६७० भन्दा बढी पुग्यो

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१

काठमाडौं । पपुवा न्युगिनीमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या ६७० नाघेको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका एक अधिकारीले जानकारी दिए ।



प्रशान्त महासागरीय टापुका लागि संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायका प्रमुख सेर्हान अक्टोप्राकका अनुसार यसको प्रभाव सुरुमा सोचेभन्दा निकै ठूलो देखिएको छ ।

‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’लाई दिएको अन्तर्वार्तामा अक्टोप्राकले १५० भन्दा बढी घर ६ देखि ८ मिटर गहिरो भग्नावशेषमा पुरिएको र ६७० भन्दा बढीले ज्यान गुमाउन हुन सक्ने बताए ।

एङ्गा प्रान्तको विपद क्षेत्र वरपरको क्षेत्र पनि जोखिमपूर्ण रहेको र लगातार पहिरो खसेका कारण करिब एक हजार २५० जनालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

पपुवा न्यूगिनीको राजधानी पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तर पश्चिममा रहेको एङ्गा प्रान्तको दुर्गम क्षेत्रमा स्थानीय समयअनुसार शुक्रबार बिहान करिब ३ः०० बजे भीषण पहिरो गएको थियो ।

पपुवा न्यूगिनीस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै एङ्गा प्रान्तको लगाइप पोर्गेरा जिल्लामा पीडित र उनीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट