काठमाडौं । यतिखेर सिनेमा हलमा दुई बिग ब्यानरका फिल्म प्रदर्शन भइरहेका छन्– ‘फर्की फर्की’ र ‘पुजार सार्की’ । दुवै फिल्ममा स्टार कलाकारहरुको अभिनय छ । अनमोल केसी स्टारर ‘फर्की फर्की’ र आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह स्टारर ‘पुजार सार्की’ दुवैले फिल्म हलमा ‘हाउसफुल’ व्यापार गरिरहेका छन्। हलमा दर्शकको ओइरो देखेपछि अन्य फिल्म कलाकारहरुले पनि खुशी साट्न थालेका छन् । यही सूचीमा पर्छिन्, अभिनेत्री वर्षा शिवाकोटी ।
वर्षाले सिनेमा हलमा फर्किएको बहारले आफ्नै फिल्म चलेजस्तो महसुस भएको बताएकी छिन् । ‘दर्शकको प्रेम नै कलाकारको सबैभन्दा ठूलो सम्पत्ति हो,’ उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्, ‘कुनैबेला कोरोनाले थलिएको नेपाली फिल्म क्षेत्र पछिल्लो समय जुर्मुराएको सुन्दा खुशीको सिमा छैन । म स्वयम् कलाकारका हिसाबले चलचित्र उत्सव–महोत्सवहरुमा सहभागी हुने मौका कमै पाएको छु तर केही समययता सिनेमा हलमा दर्शकहरुको ओइरो देख्दा म ‘मेरै फिल्म चलेजसरी’ पुलकित भएको छु ।’
सिनेमा हलहरुमा फर्किएको यो बहार, उत्साह, उमंगलाई भविष्यसम्म कायम राख्द राम्रा सिनेमा बनाउन प्रयत्न गरिरहनुपर्ने उनको भनाई छ । ‘हामीले आज उत्सवका रुपमा मनाएरमात्रै हुँदैन, भविष्यसम्म जोगाइरहन सक्नुपर्छ,’ उनले लेखेकी छिन्, ‘राम्रो सिनेमा दियौं भने त्यसको स्वाद चाख्ने दर्शक त रहेछन् त–सिनेमा हलहरुमा देखिएको हाउसफुल दृश्यहरुले फेरि यो तर्कलाई प्रमाणित गरिदिएको छ । अब समग्र चलचित्र क्षेत्र यसलाई मनन् गर्दै अघि बढ्नुपर्छ । ’