काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ ।
उनीविरुद्ध परेको मुद्दामा न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन् ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश गरेको थियो ।
श्रीमतीलाई सम्बन्ध विच्छेदपछि सहमतिबिना शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको हो । उनको सजाय जिल्ला अदालतले पछि निर्धारण गर्ने छ ।
पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अंगसँग सम्बन्धित ‘हाइमेन ओल्ड टिअर’ भन्ने देखिएको, पीडित र प्रतिवादीबिच यसभन्दा पहिले पनि वैवाहिक जबरजस्ती करणी र सम्बन्ध विच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको भन्दै सर्वोच्चले थुनामा पठाएको थियो । सोही आधारमा टेक्दै जिल्ला अदालतले दोषी ठहर गर्ने फैसला सुनाएको हो ।