काठमाडौं । वरिष्ठ हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाको पक्षमा बोलेकोप्रति क्षमा मागेका छन् । सिरोहियाको पक्षमा अभिव्यक्ति दिएपछि विवादमा तानिएका कलाकारद्वयले एक भिडियो सन्देश जारी गर्दै माफी मागेका हुन् ।
महजोडी अहिले कार्यक्रमका लागि अष्ट्रेलिया छन् । उनीहरुले अष्ट्रेलियाबाटै भिडियो सन्देश जारी गर्दै माफी मागेका हुन् ।
“हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ, त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ”, मदन कृष्ण श्रेष्ठले भनेका छन्, “एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो, हामी पनि के बोल्ने भनेर अकमकियौँ । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।”
जसमा हरिवंशले थपेका छन्, “अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो, हामीबाट त्रुटि भयो, आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ, सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।”
सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । जसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको पक्षमा वकालत गरेका थिए ।
जुन अभिव्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो । जुन अभिव्यक्तिलाई लिएर उनका शुभेच्छुकले निकै आलोचना गरेका थिए ।
अभिव्यक्ति विवादित भएपछि महजोडी सहभागि अष्ट्रेलियाको कार्यक्रम नै प्रभावित बन्न पुग्यो । उनीहरुको शोमा आउन टिकट काटेका धेरैले टिकट रद्द गरेका छन् । जुन घटनापछि महजोडीले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै माफी मागेका हुन् ।
यस्ताे छ महजाेडीकाे भिडियाे