शीर्ष तहमा पनि जुटेन सहमति, लामिछानेकै नाममा अड्कियो टीओआर-Sutra News

शीर्ष तहमा पनि जुटेन सहमति, लामिछानेकै नाममा अड्कियो टीओआर

सोमबार, १४ जेष्ठ २०८१

सोमबार, १४ जेष्ठ २०८१

काठमाडौं । सहकारी प्रकरणमा छानबिन गर्न गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा भएको छलफलमा दलहरुले पुरानै अडान राख्द सहमति नजुटेको हो ।



दलहरुबीच अलग–अलग र संयुक्त छलफल भएको थियो । तर, सहमति नजुटेपछि फेरि साँझ छलफल गर्ने भन्दै नेताहरु बैठक स्थलबाट बाहिरिएका छन् ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले छलफल सकारात्मक भएपनि सहमति हुन नसकेको बताए । “अहिलेको छलफल सकारात्मक भए पनि सहमति हुन सकेको छैन, टीओआरको विषयमा कुरा मिलेको छैन”, छलफलबारे परियारले भने ।

छानबिन समितिको कार्यादेशमा कांग्रेसले राखेको प्रस्तावमा सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएको उनले बताए । “हामीहरुको बटमलाइन विवादमा मुछिएका गृह तथा उपप्रधानमन्त्रीको नाम राखेर जानुपर्छ भन्ने हो, तर उहाँहरु त्यसमा सहमत हुन सक्नुभएन”, परियारले भने ।

शीर्ष तहमा सहमति नजुटेसँगै कांग्रेसले आज दिउँसो १ बजे पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको परियारले बताए । उनका अनुसार उक्त बैठकबाट कांग्रेसले धारणा थप स्पष्ट पार्नेछ ।

उनले भनेका छन्, “हाम्रो पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दैछ, हामीले, त्यहीबाट पार्टीको आधिकारिक धारणा ल्याउँछौँ ।”

प्रधानमन्त्री प्रचण्डले समस्या समाधान गर्न पहल गरिरहेको तर, सत्ता साझेदार एमाले र रास्वपा समस्या बढाउन लागि परेको कांग्रेसको आरोप छ । प्रधानमन्त्रीले साँझ पुनः दलहरुको छलफल राखेका छन्, जसमा सहमति हुनसक्ने परियारको भनाई छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा संसदीय छानबिन समिति गठन गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ। तर, कार्यादेशमा सहमति जुट्न सकेको छैन ।

यही असमतिकै बीचमा कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा र सरकारको नीति तथा कार्यक्रम पारित गर्दा कांग्रेसले सदनमा नाराबाजी गरिरहेको थियो ।

सरकारले भोलि (जेठ १५) मा बजेट ल्याउने तयारी गर्दैछ । यस्तोमा सदनको अवरोध खुलाउने प्रर्यत्नस्वरुप संसदीय समितिको टुंगो लगाउन खोजिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट