काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुई जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका ५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । उनीहरू काकी भतिजा हुन् ।
अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवै जनालाई बगाएको मार्मा गाउँपालिका ५ का वडाध्यक्ष सुरेन्द्र महताले जानकारी दिए । बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घटना स्थलमा खटिएको छ ।