कसको कारण टुंगिएन छानबिन समितिको टीओआर ?-Sutra News

कसको कारण टुंगिएन छानबिन समितिको टीओआर ?

सोमबार, १४ जेष्ठ २०८१

सोमबार, १४ जेष्ठ २०८१

काठमाडौं । सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएपनि छानबिन समितिको कार्यादेशमा (टीओआर)मै दलहरु अल्झिरहेका छन् । दलहरु टीओआरमा सहमति जुटाउन भन्दै पटक–पटक छलफलमा जुटेपनि सहमति जुटाउन सकेका छैनन् । बिडम्बना, पछिल्ला छलफलहरु सहमति खोज्नेभन्दा थप विवाद निम्त्याउने शैलीमा अघि बढेका छन् ।



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सोमबार मुख्य दलका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । सोमबार बिहान भएको छलफललाई ‘निर्णायक’ पनि भनिएको थियो ।

जहाँ दलहरुबीच सामूहिक र बेग्ला–बेग्लै छलफल चलेको थियो । यद्यपि, छलफल सहमति खोज्नेभन्दा विवाद बढाउनेतर्फ उन्मुख बन्यो । दलहरुले पूर्ववत् अडानलाई दोहो¥याउँदा छलफल बिना निष्कर्ष टुंग्गियो ।

बालुवाटारको छलफलपछि दलका नेताहरुको अभिव्यक्ति सहमतिको बिन्दुतर्फ होइन, थप विवाद बढाउनेतर्फ उद्धत भएको देखिन्छ । प्रधानमन्त्री विवाद समाधान खोज्न लागिरहँदा विशेषगरी एमाले र कांग्रेसबीच विवाद बढिरहेको छ ।

प्रचण्डको लगातार प्रत्यन्त

छानबिन समितिको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच विवाद बढ्दा प्रधानमन्त्री प्रचण्ड सहमति खोज्न लागिपरेका छन् । विश्वासको मत र नीति तथा कार्यक्रम प्रतिपक्षीको अवरोधका बीच पारित भएपनि प्रचण्ड बजेट सदनमा सौहार्दतापूर्ण रुपमा पारित गर्ने पक्षमा देखिन्छन् ।

यद्यपि, प्रचण्डको प्रयास सफल हुन सकेको छैन । नीति तथा कार्यक्रम प्रस्तुतअघि सहमतिमा ल्याउँदा कांग्रेस सभापति शेरबहादुर देउवालाई नै भेट्न उनी देउवा निवास बुढानिलकण्ठ नै पुगेका थिए । जुन छलफललाई सकारात्मक भनिएको थियो । यद्यपि, निष्कर्ष निस्किएन ।

सरकारले प्रतिपक्षीको अवरोधकै बीच नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा प्रधानमन्त्री प्रचण्डले बजेट सौहार्दपूर्णरुपमा पारित हुने आशा व्यक्त गरेका थिए ।

“मैले केही दिनदेखि लगातार सहमतिको प्रयास गरिरहेको छु, गतिरोध अन्त्यका लागि प्रयास भइरहेको छ, सहमति र समझदारीको धेरै नजिक पुगेको थाहा छ”, सदनमा सम्बोधनका क्रममा प्रधानमन्त्रीले भनेका थिए, “कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेतासँग बूढानीलकण्ठमा पुगेर सहमतिको प्रयास गरेको छु । बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति जुट्ने विश्वास व्यक्त गर्छु ।”

नीति तथा कार्यक्रम प्रस्तुतपछि प्रचण्ड लगातार कांग्रेससँग संवादमा छन् । जुन शिलशिलाकै रुपमा सोमबार शीर्ष नेताहरुबीच छलफल भएको थियो । तर, प्रधानमन्त्रीको प्रयासले पूर्णता पाइरहेको छैन ।

सहमति होइन, विवाद बढाउँदै एमाले

प्रधानमन्त्री सहमतिको खोजीमा भइरहँदा एमाले भने विवाद बढाउने शैलीमा देखिएको छ । सोमबार छानबिन समितिको कार्यादेश टुंग्याउन भनेर बसेको शीर्ष बैठक छानबिन समितिमाथि भन्दा एमालेको नयाँ इश्यूमाथि छलफल केन्द्रीत बन्यो ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जोडेर लगाइएको गिरीबन्धु टि स्टेटबारेको आरोपप्रति माफी माग्नुपर्ने माग गरेको थियो । जसमा लिखितरुपमा माफी नमागेसम्म अन्य विषयमा प्रवेश नगर्ने एमालेको अडान छ ।

एमालेले कांग्रेसले मागी नमागेको खण्डमा प्रतिवादमा उत्रिने पनि चेतावनी दिएको छ । “नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्, अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ, एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ”, एमाले उपाध्यक्ष विष्णु पौडेलले भनेका छन्, “यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ, कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ।”

एमालेले नयाँ इश्यू उठाएर छानबिन समितिको विषय आफूअनुकुल बनाउन खोजेको आरोप कांग्रेसको छ । कांग्रेसले एमालेको बहकावमा पार्टी नपर्ने पनि स्पष्ट पारेको छ ।

यद्यपि, एमालेले निकालेको नयाँ इश्यूसँगै भने छानबिन समितिबारेको विषय ओझेल पर्ने सम्भावना अधिक देखिन्छ । घटनाक्रमलाई नियाल्दा प्रधानमन्त्री प्रचण्डको सदनमा सौहार्दपूर्णरुप वातावरणका बीच बजेट प्रस्तुत गर्ने योजना असफल हुने सम्भावना अधिक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट