म नेपाली फिल्म किन हेर्दिन थाहा छ ?-Sutra News

म नेपाली फिल्म किन हेर्दिन थाहा छ ?

सोमबार, १४ जेष्ठ २०८१

सोमबार, १४ जेष्ठ २०८१

फिल्म मनोरञ्जन, शिक्षा र भविष्य वाणीको संयोजन हो । यो ज्ञानबर्द्धक हुनुपर्छ । यो समाजको ऐना हुनुपर्छ । यसले भरपुर मनोरञ्जन दिनुपर्छ । नेपाली फिल्म धेरै वर्षसम्म बलिउडका कथा र पात्रहरू चोरेर बने । यसले नेपाली फिल्म क्षेत्रलाई खुम्च्यायो । पछिल्ला वर्षहरूमा नेपाली फिल्म पनि समाजका विविध विषयवस्तु समेटेर बनेको सुनिन्छ । यो सकारात्मक पक्ष हो ।



परम्परागत नेपाली फिल्ममा हिरो हुन्छ, हिरोइन हुन्छिन्, भिलेनले हिरोइनलाई मन पराउन खोज्छ । हिरो आएर भिलेनलाई नराम्रोसँग पिट्छ, भिलेनलाई जित्छ । अनि हिरो र हिरोइनको विवाह वा मेल हुन्छ । नेपाली फिल्ममा हुने मुख्य मनोरञ्जन यही हो । अल्प छ ! न भरपुर मनोरञ्जन न शिक्षा ! न भविष्यको आकलन ! झुर कथा वस्तु ! झुर संयोजन ! यस्ता फिल्म सुपर फ्लप नभएर के हुनु त ? फिल्ममा के हुन्छ पहिल्यै थाहा हुन्छ दर्शकलाई !

पछिल्ला समय बनेका केही निश्चित फिल्ममा केही फरकपन भेटिन्छ । यद्यपि, विगतको शैलीले छाडेको पाइन्न । एकातिर कथावस्तुमा समस्या छ भने अर्कोतिर प्रस्तुती प्राकृतिक छैन । कतिपयले प्राकृतिक बनाउने नाममा अश्लिलता भर्दा पनि फिल्म कुरूप बनिरहेको छ ।

पछिल्ला समय बनेका केही निश्चित फिल्ममा केही फरकपन भेटिन्छ । यद्यपि, विगतको शैलीले छाडेको पाइन्न । एकातिर कथावस्तुमा समस्या छ भने अर्कोतिर प्रस्तुती प्राकृतिक छैन ।

फिल्मले समाजको पाटोलाई उदाङ्ग बनाउनुपर्छ । समाजमा फिल्म बन्ने कथावस्तु कति छन् कति ! युवाको विदेश पलायन, अविकास, कृषिको रूपान्तरण, भ्रष्टाचार, विभेद, कुरीति, कुशासन, परिवर्तनको सम्भावना आदिका सकारात्मक तथा नकारात्मक दुवै पाटोमा फिल्म बनाउन सकिन्छ । ती विषयवस्तुमा माया–प्रेम, धृणालाई सुस्तरी घुसाएर फिल्म बनाउन सकिन्छ । त्यतातिर धेरैजसो फिल्म निर्माताको सोचै गएन । उहीँ पुरानै पारा !

फिल्म निर्माण गर्न नाम चलेकै कलाकार हुनुपर्छ भन्ने पनि होइन । क्याराभान फिल्ममा दुनियाँले नचिनेको पात्र थियो; ठिन्ले ! फिल्म राम्रो बन्यो ! त्यसैले महँगा हिरो–हिरोइन (कलाकार) चाहिन्छ भन्ने कुरा गलत रहेछ । ज्वलन्त कथावस्तुमा प्रेम, ईष्या, घृणा आदिको समिश्रण र पात्रहरूको प्राकृतिक अभिनय भयो भने राम्रा फिल्म बन्न सक्छन् ।

छोटा र थोरै कपडा लगाउँदैमा फिल्म चल्ने भन्ने होइन । सभ्य कपडा लगाए पनि फिल्म चल्छन् । सबै वर्गले फिल्म मन पराउँछन् । महँगो ठाउँमा गएर फिल्म सुटिङ गर्नुपर्छ वा कलाकार महँगा चाहिन्छन् भन्ने कुरा भ्रम हो । कथावस्तुलाई कसरी प्रस्तुत गरिन्छ, त्यो महत्वपूर्ण कुरा हुन्छ । नेपालका सबै ठाउँ फिल्म सुटिङका लागि स्टुडियो हुन् । कथावस्तुसँग भिज्न सक्ने पात्र र क्षमतावान निर्देशकले उत्कृष्ट फिल्म बनाउन सक्छन् । विषयवस्तु र पात्र छनौट महत्वपूर्ण हुन्छ ।

एकातिर फिल्मका कथावस्तु कमजोर छन् भने अर्कोतिर प्रस्तुती निकै झुर लाग्दा छन् । आफ्ना मौलिकता होइन, अन्यको सिको गर्ने चलन हाबी मात्रै भइरहेको छैन, कपि फिल्मको झल्को दिन्छ । साउथ हेर्नेलाई बलिउड हेर्दा झिजो लागेजस्तै अन्य फिल्म हेर्नेलाई नेपाली फिल्म हेर्दा समय कटाउनै मुस्किल पर्छ ।

फिल्मले एउटा उमेर समूह वा वर्गलाई भन्दा ठूलो समूहलाई लक्षित गर्न सक्यो भने बल्ल फिल्मले कमाउन सक्छ । हुनै नसक्ने परिकल्पना, पात्रहरूको कृत्रिम अभिनयले फिल्मलाई सजीव बनाउँदैन । बरु फिल्महरू फ्लप बनाउँछन् । अनुसन्धान र खोज नगरी फिल्म बनाउँदा लगानी त डुब्छ नै भविष्यका लागि समेत दर्शक पाउन मुस्किल हुन्छ ।

दर्शकको सेन्टिमेन्ट बुझ्नु जरुरी हुन्छ अथवा दर्शकलाई नयाँ स्वाद पस्कन सक्नुपर्छ । राम्रो फिल्म बने भने सबैले हेर्छन् । हलमा नै गएर हेर्नुपर्छ भन्ने जमाना पुरानो भयो । युट्युब आदिबाट पनि हेर्न सकिन्छ । युवा–वयस्क, पढेका–नपढेका सबैले हेर्छन् । राम्रा फिल्मलाई दर्शकको खाँचो हुँदैन । नेपाली फिल्म निर्माताले यो कुरा बुझ्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट