काठमाडौं । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ ।
सोमबार चलचित्र विकास बोर्डले फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा ‘सिनेमाण्डु’ राख्ने सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
बोर्डले सिनेमाण्डु, कान्तिपुर फिल्म्स र हिमालय फिल्म्समध्येबाट एक नाममा सहमति कायम गर्नुपर्ने भन्दै छलफलमा बोलाएको थियो । बोर्डको निर्णयपछि नामाकरणबारेको सिफारिस सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने भएको छ ।
‘सिनेमाण्डु’ नामाकरणबारे सहमति जुटेको र आजै बेलुका बस्ने बोर्ड बैठकले त्यसलाई अनुमोदन गर्ने बोर्ड अध्यक्ष भुवन केसीले बताए । अध्यक्ष केसीले भने, ‘सबै संघसंस्था त्यो नाममा सहमत छन् । बोर्ड बैठकले निर्णय गरेर यसलाई मन्त्रालयमा पठाउनेछ ।’
मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि मात्रै नेपाली फिल्म क्षेत्रले नाम पाउनेछ । तर, नेपाली फिल्मकर्मीले नै बोर्डको यो निर्णयप्रति आपत्ति जनाएका छन् । गर्नुपर्ने आवश्यक कामहरु धेरै हुँदाहुँदै बोर्ड नाम राख्नमै केन्द्रित हुनु अनावश्यक स्टन्ट रहेको उनीहरुको भनाई छ ।
‘चलचित्र विकास बाेर्डले वाहियात काम गर्ने कीर्तिमान कायम गर्ने क्रममा नेपाली चलचित्र उद्योगको नाम राख्ने भनेर समिति नै बनाएर सिफारिस लिएछ । एउटा चाहिँ सिनेमान्डु रे अनि बाँकी दुई चाहिँ कान्तिपुर सिनेमा र एभरेस्ट रे, ‘फिल्म लेखक तथा चलचित्र समीक्षक समाजका उपाध्यक्ष सामिप्यराज तिमल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दुनियाँलाई नचाहिने अनि हामीलाई मात्र बेग्लै नाम किन चाहिने होला ? नेपालको चलचित्र उद्योगलाई नेपाली चलचित्र उद्योगभन्दा नमिलेको के छ ? बुझाइपाउँ त !!’ चलचित्र विधेयक खोई ? चलचित्र नीति खोई ? बनेपामा बन्ने भनेको इन्डोर सुटिंग स्टुडियो खोई? स्टोरी बैंकले छानेका कथामा फिल्म बनेको खोई ? गर्नुपर्ने काम एउटा नगर्ने काम मच्ची मच्ची गर्ने !’
यस्तै फिल्म निर्माता रामकृष्ण पोखरेलले लेखेका छन्, ‘चलचित्र उद्योग माथि उठौन गर्नु पर्ने धेरै कामहरु थिए तर कार्यालय सहायकको जति पनि भिजन नभएको ब्यक्तिहरु लाई संघ-संस्थाको नेतृत्वमा निर्वाचित वा मनोनित गर्दाको प्रतिफल हो यो।’