काठमाडाैं । सर्वोच्च अदालतले ४८ घण्टाभित्र गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश दिएको छ । एमाले नेता खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै अदालतले पाण्डेकाे पक्षमा परमादेश दिएकाे हाे ।
न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले सुनुवाइ गर्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएकाले पदमुक्त हुने फैसला सुनाएको हो । ६० सदस्य प्रदेश सभामा बहुमतका लागि ३१ मत ल्याउनुपर्ने भन्दै सर्वोच्चले उनले पाएको ३० मतले विश्वासको मत नपुग्ने ठहर गरेको छ ।
‘६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि न्यूनतम ३१ सदस्यको आवश्यकता पर्नेमा ३० सदस्यकै समर्थनमा प्रस्ताव बहुमतबाट पास भएको भनी प्रदेशसभाका सभामुखबाट भएको घोषणा नेपालको संविधानको धारा १८८ को उपधारा ३ विपरीत रहेको हुँदा गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले पेश गर्नुभएको विश्वासको मत बहुमतले पास भएको भनी गण्डकी प्रदेशसभाका सभामुखबाट २०८१/०१/२३ मा गर्नुभएको घोषणा उत्प्रेषणको आदेशले बदर गरिदिएको छ’, सर्वोच्चले सोमबार सार्वजनिक गरेको संक्षिप्त फैसलामा भनिएको छ ।
सर्वोच्चको फैसलासँगै आगामी बुधबार साँझसम्म पाण्डे ठूलो दलको नेताको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बन्ने छन् ।
एमाले दल नेता अधिकारीले गत २३ वैशाखमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । विश्वासकाे मत लिँदा अधिकारले पक्षमा जम्मा ३० मत पाएका थिए । तथापि, सभामुख कृष्ण धितालले आफ्नो पनि समर्थन रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरिदिएका थिए ।
गठबन्धनकाे यस्ताे घाेषणापछि कांग्रेसका पाण्डेले अधिकारीले विश्वासको मत नपाएकाले उनको सरकार स्वतः ढलेकाले ठूलो दलको संसदीय दलको नेताको हैसियतले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिन पनि माग गर्दै रिट दायर गरेका थिए ।
यस्ताे छ सर्वाेच्च अदालतकाे पूर्णपाठ