काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भागमा “रेमल” चक्रवातको सामान्य प्रभाव छ ।
जसका कारण हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानमा तथा पहाडी भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।