गणतन्त्रवादीबाटै जोखिममा रहेको गणतन्त्र !-Sutra News

गणतन्त्रवादीबाटै जोखिममा रहेको गणतन्त्र !

मंगलबार, १५ जेष्ठ २०८१

मंगलबार, १५ जेष्ठ २०८१

जेठ १५ गते गणतन्त्र दिवस अर्थात् नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी दिन । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आएका छौं । अहिले हामी १७ औं गणतन्त्र दिवस मनाउँदै छौं । गणतन्त्र दिवस संसारका सबै मुलुकमा मनाउने गरिँदैन । गणतन्त्र दिवस मनाउने देशहरूमा पनि गणतन्त्र दिवस मनाउनु पछाडिका उद्देश्यहरू पनि सबै देशमा समान छैनन् । आजको दिन १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको थियो ।



जस्तो इटालीका नागरिकहरूले जून २ का दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गर्छन्, जुन दिन इटालीका नागरिकहरूले गणतन्त्र कि राजतन्त्र भन्ने जनमत सङ्ग्रहमा सन् १९४६ मा गणतन्त्रको पक्षमा मतदान गरेका थिए । भारतमा २६ जनवरी १९५० देखि भारतीय संविधान लागू भएको थियो, जुन संविधानले ब्रिटिस संसद्ले बनाएको गभर्मेन्ट अफ इन्डिया एक्ट १९३५ लाई खारेज गरिदिएको थियो । भारतीयहरू २६ जनवरीलाई नै गणतन्त्र दिवसको रूपमा मनाउने गर्दछन् ।

हाम्रो सन्दर्भमा भने २०६५ जेष्ठ १५ गते संविधान सभाको पहिलो बैठकले साढे दुई सय वर्ष पुरानो राजतन्त्रलाई खारेज गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यही दिन जेष्ठ १५ लाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आइरहेका छौं । त्यस दिनको बैठकले तत्कालीन राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र दरबार छोड्न आदेश गरेको थियो । उक्त साहसिक घोषणाको जगमा खडा भएको गणतन्त्र २०८१ मा सम्म आइपुग्दा निकै बलियो भइसकेको अनुभूत गर्नुपर्नेमा परिस्थिति त्यस्तो छैन ।

मुलुकले संविधान पाएसँगै गणतन्त्र कागजमा संस्थागत भइसकेको छ तर, व्यवहारिक रूपमा अझै संस्थागत हुन सकेको छैन् । जनताको शासन जनताकै प्रतिनिधिले गर्ने व्यवस्थाको सुरुवात त भयो तर, गणतन्त्रको उमेर डेढ दशकभन्दा बढीको हुँदै गर्दा जनताको शासन, जनताले महसुस गर्न पाएका छैन् । 

गणतन्त्र नेपाल त्यो साझा बिन्दु थियो, जसले युद्धमा होमिएको तत्कालीन नेकपा (माओवादी) र राजासहितको प्रजातन्त्रमा रहेका संसदीय दलहरूलाई एकै ठाउँमा ल्याइ पु¥याएको थियो । माओवादीहरूले शान्ति र लोकतन्त्र मान्ने र संसदीय दलहरूले संविधान सभाको एजेण्डा स्वीकार्ने जुन सम्झौता भएको थियो, त्यसकै परिणाम हो गणतन्त्र नेपाल ।

गणतन्त्र नेपालले थुप्रै आरोह अवरोहसँग पौँठेजोरी खेलिसकेको छ । पहिलो संविधान सभाको विघटनले गणतन्त्रको भविष्यमा संकट पैदा गरेको थियो । दोस्रो संविधान सभामा पनि कसैको स्पष्ट बहुमत थिएन, तर पनि संविधान जारी भएर नै छोड्यो । संविधान जारी गर्दा देशको आधा हिस्सा मधेसी, थारू आदि आन्दोलनमा थिए । साम, दाम, दण्ड र भेदको प्रयोग गरि जारी गरिएको विश्वकै उत्कृष्ट संविधानले देशलाई दुई भागमा विभाजन गरिदियाे । एकातिर दिपावली मनाउँदा अर्कोतिर कालो दिन मनाउने अवस्था बन्यो । देशको एउटा ठूलो वर्ग जसले आज पनि संविधान दिवसलाई कालो दिनको रूपका मनाउन बाध्य पारिदै आएको छ । 

लोकमानसिंह कार्की जसले जनआन्दोलन दबाउन सक्रिय भूमिका खेलेका थिए, उनीलाई नै दलहरूले गणतन्त्र पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाइदिए । राजावादी दलहरूलाई राज्यसत्तामा निर्णायक भूमिका दिइरहेकै छन् । यस्ता कृत्यबाट यदाकदा गणतन्त्र अवमूल्यन भएको हो कि भन्ने महसुस अवश्य हुन्छ । 

गणतन्त्रको घोषणाबाट नेपालीहरूमा जुन आशा र उत्साहको रक्तसञ्चार भएको थियो, त्यो खुसी भने अहिलेसम्म आइपुग्दा मत्थर भइसकेको छ । व्यवस्था परिवर्तन भयो, जीवन परिवर्तन भएन । सरकार परिवर्तन भए, संस्कार परिवर्तन भएनन् । एउटा राजपरिवारको अन्त्यसँगै सयौँ नव सामन्ती राजपरिवारको उदय भयो । गणतन्त्रको सपनामा राजाको अनुपस्थिति मात्र परिकल्पना गरिएको थिएन, नागरिकहरूले रोजगार, विकास, अवसर, सहिष्णुता र शान्ति पनि खोजेका थिए ।

२०६५ सालमा मलेसिया र खाडीको योजना बनाउनु पर्ने युवकको कथा आज ०८१ मा प्रवेश गर्दा पनि बदलिएको छैन् । ति युवकलाई पनि गणतन्त्रको महसुस हुन सकेको छैन । ०६५ सालमा घुमेका सडक गल्लीहरू उस्तै छन्, अझ जर्जर भएका छन् । त्यहाँ गणतन्त्र पुग्न सकेन । मध्यपश्चिम र सूदुरपश्चिमका पहाडहरूमा न उपचारका लागि चिकित्सक छन् न औषधि नै । त्यहाँ गणतन्त्र पुग्न सकेन ।

शहरिया मध्यमवर्गका नवयुवाहरूले देशमा अवसर देख्न सकिरहेका छैनन् । पढ्ने बहानामा युरोप र अमेरिकामा पुगेर विलासी जिन्दगी बाँच्ने सपना देखिरहेका छन् । यि सपनाहरूमा गणतन्त्रले फेरबदल ल्याउन सकेको छैन । एउटा निम्नमध्यम वर्गको युवा जमात छ, जुन खाडी पुग्न पनि अप्ठ्यारो मान्छ र युरोप अमेरिका जाने आर्थिक हैसियत राख्दैन । त्यो वर्ग लोकसेवाको चर्को प्रतिस्पर्धामा अल्झिएको छ या राजनैतिक दलको कार्यक्रममा सामान्य नियुक्ति वा ठेक्का पट्टाको मेलो मेसोमा अल्झिएको छ । नेपाली गणतन्त्रले यो ठूलो हिस्सालाई पनि समेट्न असमर्थ नै छ । विकास र परिवर्तनको लागी यो समूहलाई समेट्नै पर्छ । “विदेश जानु पर्छ कि” भन्ने सोच नआएको नेपाली युवा भेट्न दुर्लभ नै होला । यो सोचमा गणतन्त्रले लगाम लगाउन सकिरहेको छैन ।

परिवर्तन सुनिने मात्र होइन, देखिने र अनुभूत गर्न सकिने हुनुपर्छ । नेपाली नागरिकहरू पढ्न जाँदा विश्वविद्यालयमा गणतान्त्रिक मूल्य देख्न चाहन्छन् । नेपाली नागरिकहरू अस्पतालमा उपचार गर्न जाँदा, सडक चोकहरूमा उभिँदा, रोजगार खोज्दै गर्दा गणतान्त्रिक मूल्यहरू अनुभूत गर्न चाहन्छन् । विकट हिमाली जिल्लामा खाद्यान्न र पानीको अभाव हुँदा त्यहाँका नागरिकलाई सहयोग गर्न सरकार पुगेको देख्न चाहन्छौँ । सुगम जिल्लाको मुसहर बस्तीको कारुणिक जीवनमा कुनै गैरसरकारी संस्था होइन हामीले सरकार पुगेको पनि देख्न चाहन्छौ । 

साँच्चिकै भन्नुपर्दा हामी गणतन्त्र काठमाडौंका प्रशासनिक केन्द्र सबै नेपालीको घर आँगनमा पुगेको देख्न चाहन्छौँ । वि.सं. २०६५ अगाडि नारायणहिटी दरबारमा कैद गणतन्त्र, अहिलेको बालुवाटार, बालकोट, बालकुमारी, खुमलटार, धुम्बाराही र केही निजी व्यापारिक घरानाहरूको कर्पोरेट अफिसको कोठाहरूमा कैद छ । जनताको गणतन्त्र, जनताले नै अनुभुति गर्न पाएका छैन्, किन ? 

के गणतान्त्रिक नेपालका हिमायतीहरूले नागरिकलाई गणतन्त्र महसुस गराउन तयार छन् त ? आजको गणतन्त्रलाई राजतन्त्रबाट खतरा छैन । खतरा यिनै राजनैतिक दलहरूबाट छ । विभिन्न राजनैतिक दलहरूले बोकेका विभिन्न एजेण्डाहरू जस्तै एकल जातीयतावाद एकल क्षेत्रीयतावादबाट गणतन्त्रलाई खतरा छ । राज्यको एउटा ठूलो हिस्साले, अर्को हिस्साको लागि बोकेको संकीर्ण राष्ट्रवादबाट नै गणतन्त्रलाई खतरा छ । हामीले यी गुलिया विषहरूलाई छोड्नै पर्छ ।

सरकार र दलहरूले आफैले बाचा गरेका संविधान, ऐन नियमावलीहरू नमान्दा गणतन्त्रलाई खतरा छ । न्यायाधीशहरूको न्यायिक सीमारेखाबाट बाहिर निस्किएर राजनैतिक क्रियाशीलतामा रमाउन चाहने लालसाबाट गणतन्त्रलाई खतरा छ । कर्मचारीहरूले सेवा गर्नुपर्ने नागरिक नै नचिन्ने र राष्ट्रसेवकको भूमिकाबाट ओरालो बाटो झर्ने प्रवृत्तिबाट गणतन्त्रलाई खतरा छ । सदनमा पुग्दै नपुगी सडकबाट नै सबै समाधान खोजिरहेका विभिन्न स्वार्थ समूहबाट नेपाली गणतन्त्रलाई चुनौती छ ।

आजको गणतन्त्र जोगाउन गणतान्त्रिक अभियन्ताहरूले अरुतिर औंला तेर्स्याएर उन्मुक्ति पाउने छुट छैन । चुनौति हामीभित्रबाट नै छन्, हामी सुध्रनु नै पर्छ भन्ने सोच जबसम्म हाम्रो राजनैतिक दलहरूलाई आउँदैन, तबसम्म गणतन्त्र कागजमै सुन्दर देखिन्छ, व्यवहारमा होइन । 

जनताको लागि भनेर ल्याएको गणतन्त्र अहिले कसको कब्जामा छ ? के गणतन्त्रले जनताकै लागि काम गरिरहेको छ वा केही सीमित व्यक्ति र संगठनको लागि दिन दुई गुणा र रात चौ गुणा खटिरहेको छ ? हामी सभ्यता र विकासले भिजेको गणतान्त्रिक जीवनको अनुभूत गर्न चाहन्छौँ ।

गणतन्त्रको अनुभूत सामाजिक जीवनका आयामहरूमा भेट्न मुस्किल छ । राजनैतिक ठेली, वाद, घोषणा पत्र, संविधान वा सिद्धान्तले जीवन छुन छोड्यो भने तिनीहरूको मूल्य हुँदो रहेनछ । अन्ततोगत्वाः गणतन्त्र प्रति नै वितृष्णा उत्पन्न हुन सक्छ । के गणतान्त्रिक नेपालका सारथीहरूले हामी नेपाली नागरिकहरूलाई हाम्रो वास्तविक गणतन्त्र दिन चाहन्छन् त ? यो कौतुहलको जवाफ हामी भाषणमा मात्र होइन, छिटो भन्दा छिटो आफ्नै जीवनकालमा महसूस गर्न चाहन्छौँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट