काठमाडौं । आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०८१-८२ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्य दुई घण्टाका लागि सरेको छ ।
संसद् सचिवालयका अनुसार नेपाल सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित संघीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो ।
सहकारीको रकम हिनामिना र अपचलन गरेको भन्दै छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलमा सहमति हुन नसकेपछि बजेट भाषणमा यसको प्रभाव परेको हो ।
सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकले कार्यदेशको मस्यौदालाई अन्तिम रूप प्रयास गरिरहेको छ । त्यसपछि संसदबाट समिति गठन भएको घोषणा गरिने छ ।
सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले छानबिन समिति गठनको माग गरेर संसद् बैठक अवरोध गर्दै आएको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मोटामोटी सहमति भएको भन्दै चार बजे बस्ने संसद् बैठकले समितिलाई अनुमोदन गर्ने जानकारी दिए ।
यसअघि सभामुख देवराज घिमिरेले संयुक्त सदनको बैठक दिउँसो १ बजेका लागि निर्धारण गरेका थिए ।
आज बस्ने संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ ।