काठमाडौं । बुद्ध जयन्तीको अवसरमा प्रदर्शन भएका दुई फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले दर्शकको साथ पाइरहेका छन्। पहिलो दिन ‘ग्रान्ड ओपनिङ’ गरेका यी दुई फिल्मले दोस्रो दिन शुक्रबार करिब ४५ प्रतिशतभन्दा माथि अकुपेन्सी लिन सफल भएका थिए ।
प्रर्दशनको दोस्रो दिन अर्थात् शनिबार फिल्मले भने शतप्रतिशत अकुपेन्सीका साथ यी दुई फिल्मका अधिकांश शोजहरू हाउसफुल देखिन्थे भने उत्कृष्ट व्यापार गर्न सफल भएका थिए । स्टारकास्ट भएका कारण प्रतिस्पर्धामा आए पनि दर्शकले दुवै फिल्मलाई उच्च साथ दिएका छन् ।
फिल्ममा दर्शकको उच्च साथ पाएसँगै कलाकारहरू हलमा पुगेर आफ्ना शुभचिन्तक भेटिरहेका छन् । देशैभरि दुवै फिल्ममा दर्शकाका साथ उच्च देखिँदा केही स्थानमा भने अनमोल केसी अभिनित फर्की फर्कीको अकुपेन्सी राम्रो देखिएको छ । विशेषगरी फिल्मको पूर्वी शहर विराटनरमा फर्की फर्की अग्रस्थानमा देखिएको थियो ।
नेपाली फिल्मवृत्तमा स्टार कलाकारबीचको महाभिडन्तको रुपमा हेरिएसँगै व्यावसायिक रुपमा प्रदर्शनको पाँचौं दिनमा पनि फिल्मको अकुपेन्सी सुखद् देखिएको छ। प्रदर्शनको छैटौँ दिनसम्म आइपुग्दा फिल्मको कलेक्सन रिपोर्ट भने सार्वजनिक गराएका छैनन् ।
हुन त, एक साताभरको कलेक्सन विवरण एकैपटक सार्वजनिक गर्ने तयारी रहेको उनीहरुले बताएपनि दुवै फिल्मको निर्माण पक्षले बक्स अफिसको डाटा सार्वजनिक नगर्ने सहमति भएको जनाइएको छ। मिडियाले जानकारी माग्दा पनि वितरकहरूले सबै हलबाट कलेक्सनको विवरण नआइसकेकारण बताउँदै तर्की रहेका छन् ।
दुवै फिल्मको पाँचौं दिन (बिहीबारदेखि सोमबार) सम्मको ग्रस कलेक्सन ५ करोड हाराहारी पुगेको हुनसक्ने अनुमान गरिएको छ। यसमा ‘फर्की फर्की’ र ‘पुजार सार्की’को व्यापारमा २० लाखको फरक पर्ने बताइन्छ ।
फिल्म ‘फर्की फर्की’मा अनमोलसँगै जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्यालको मुख्य भूमिका रहेको छ । टाइम लुप’ को फरक कथा, लभस्टोरीसँगै एक्सन समेत समावेश ‘फर्की फर्की’ लाई सुयोग गुरूङले लेखन एवं निर्देशन गरेका हुन्।
यता दिनेश राउतको निर्देशनमा रहेको फिल्म ‘पुजार सार्की’मा आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह स्टार कलाकार छन् । फिल्मले जातीय विभेदको विषयमा ठूलो प्रश्न खडा गरेको छ ।
आज मंगलबार गणतन्त्र दिवसको बिदा परेकाले दुवै फिल्मले त्यसको फाइदा उठाइरहेका छन्। आज काठमाडौं उपत्यकासहित देशभरका हलमा दर्शकको उच्च उपस्थिति देखिएको छ ।