काठमाडौं । सरकारले घाटामा रहेका संस्थानलाई निजी क्षेत्रसँग सहकार्य गरेर चलाउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार कतिपय त्यस्ता संस्थानलाई सम्भावना अध्ययनपछि पब्लिक लिमिटेडमा रूपान्तरण गर्ने प्रक्रिया अवलम्बन गरिनेछ ।
संस्थानसँगै सँगै रुग्ण बनेका उद्योगलाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन गर्ने उनको घोषणा छ । बन्द अवस्थामा रहेका विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योगलगायतलाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन ल्याइने उनको घोषणा छ ।
सार्वजनिक संस्थानसँगै सरकारले वायु सेवा निगममा पनि निजी क्षेत्रलाई भित्र्याउने भएको छ । अर्थमन्त्री पुनले वायु सेवामा रणनीतिक साझेदारका रुपमा निजी क्षेत्रलाई भित्र्याउने तयारी भएको बताए ।
यसअघि वायु सेवा निगम घाटामा गएको बताउँदै सरकारले निजीकरणका लागि अध्ययन गर्न अध्ययन समिति गठन गरेको थियो । यद्यपि, सत्ता समीकरण हेरफेरसँगै उक्त काम रोकिएको थियो ।