काठमाडौं । सहकारी ठगी प्रकरणमा नाम मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा परेको रिटको सुनुवाइ स्थगित भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो ।
लामिछानेलाई मन्त्री पदबाट निलम्बन गर्न माग गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दिएका थिए । उनकै आग्रहमा आजको सुनुवाइ स्थगित भएको हो ।
अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने गृहमन्त्रीकै पदमा रहेर सहकारी ठगीको निष्पक्ष छानबिन नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
अधिवक्ता भट्टराईले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ ।