सन्दीपले टी २० विश्वकप खेल्ने अनिश्चित, जिम्मेवारी बन्न अरू खेलाडीलाई दबाब-Sutra News

सन्दीपले टी २० विश्वकप खेल्ने अनिश्चित, जिम्मेवारी बन्न अरू खेलाडीलाई दबाब

बुधबार, १६ जेष्ठ २०८१

बुधबार, १६ जेष्ठ २०८१

काठमाडौं । तीन दिनपछि आईसीसी टी २० विश्वकप सुरु हुँदै छ । अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुने विश्वकपमा एक दशकपछि नेपाल पनि खेल्दै छ ।



विश्वकपमा सहभागी हुन एक महिनाअघि नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका पुगिसकेको छ । रोहित पौडेलको कप्तानीमा अमेरिका पुगेको टोलीमा पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने सहभागी हुने खबरले उत्साह थपिएको थियो ।

बलात्कारको आरोपमा उच्च अदालत पाटनले सफाइ दिए पनि विश्वकप खेल्न अमेरिकाले सन्दीपलाई भिसा अस्वीकार गर्दै आएको छ । अमेरिकाले दोस्रो आवेदन अस्वीकार गरेसँगै नेपाल क्रिकेट संघ (क्यान)को आग्रहमा तेस्रोपटक भिसाका लागि आवेदन दिइएको थियो ।

अमेरिकाले विश्वकप खेल्ने आफ्नो देशको टोलीका खेलाडीलाई भिसा नदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतक ज्ञानेन्द्र शाहीलगायत अभियान्ताले बुधबार माइतीघरमा प्रदर्शन गर्ने भएको छ ।

टी २० विश्वकपमा सहभागी टिममध्ये सबैभन्दा कमजोर क्यानडाविरुद्धको वार्मअप म्याचमा नेपालले लज्जास्पद हार बेहोरेको थियो । जसमा नेपाली टोलीका स्टार खेलाडी सन्दीप सहभागी हुन पाएका थिएनन् ।

विश्वकपमा सहभागी हुन क्यानले आईसीसीलाई १५ सदस्यीय खेलाडीको नाम बुझाउनु पर्ने भए पनि टोलीको १४ सदस्यीय खेलाडीको मात्रै नाम पठाएर सन्दीपलाई सहभागी गराउने सम्भावना जिवित राखेको थियो । सन्दीपले खेल्न नपाउने भएसँगै अन्य खेलाडीमाथि मनोवैज्ञानिक दबाब बढेको छ ।

सन्दीपबिना नेपाली टोलीमा विश्व कीर्तिमानधारी खेलाडी छन् । विश्वकपमा सहभागी हुने नेपाली टोलीमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने र अर्धशतक प्रहार गर्ने खेलाडी छन् । यस्तै, नेपाली टोली आफैमा एक कीर्तिमानधारी टोली हो । टी २० फम्र्याटमा नेपालले मंगोलियाविरुद्ध ३१४ रनको विश्व कीर्तिमान बनाएको छ ।

यसैबीच अमेरिकाले सन्दीपलाई भिसा नदिए वेष्ट इण्डिजमा हुने खेलमा मात्रै भए पनि सन्दीपलाई सहभागी गराउने क्यानको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट