हत्या अभियोगमा जेलबाट छुटेका तामाङले गरे दाइकै हत्या-Sutra News

हत्या अभियोगमा जेलबाट छुटेका तामाङले गरे दाइकै हत्या

बुधबार, १६ जेष्ठ २०८१

बुधबार, १६ जेष्ठ २०८१

काठमाडौं । जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका ५ मानेगाउँमा भाइले दाजुको हत्या गरेका छन् ।



७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज नियन्त्रणमा लिएको हो ।

सोमबार साँझ धारिलो हतियार (खुकुरी) प्रहारबाट हत्या भएको खमसिंहको मृत्यु जग्गासम्बन्धी विवादमा उनकै भाइबाट भएको पाइएकाले सिंहबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार जग्गासम्बन्धी लामो समयदेखि कायम विवाद, घटना स्थलको प्रारम्भिक प्रतिवेदन र घटनाका सम्बन्धमा अभियुक्तबाट स्वीकार गरेको बयानका आधारमा दाजुको हत्या अभियोगमा भाइलाई नियन्त्रणमा लिइएको हो ।

उनी यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भएर कैद भुक्तानपश्चात् छुटेको प्रहरीले जनाएको छ । पक्राउ परेका सिंहबहादुरलाई कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्नलाई अनुमति लिन आज जिल्ला अदालतमा उपस्थित गराउने नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट