सक्रिय राजनीतिमा ओर्लिइन् पूर्वराष्ट्रपति भण्डारी-Sutra News

सक्रिय राजनीतिमा ओर्लिइन् पूर्वराष्ट्रपति भण्डारी

बुधबार, १६ जेष्ठ २०८१

बुधबार, १६ जेष्ठ २०८१

काठमाडौं । लामो समयदेखि सक्रिय राजनीतिका लागि ‘वार्मअप’ गरिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अन्ततः पार्टी कार्यक्रम जोडिएकी छिन् । बुधबारदेखि सुरु भएको एमालेको राष्ट्रिय महिला भेलामा उनी प्रमुख अथितिको रुपमा उपस्थित छिन् ।



एमालेको जनसंगठन संयन्त्रले आयोजना गरेको महिला भेलामा भण्डारीलाई प्रमुख अथिति बनाउँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भने प्रमुख वत्ताको रुपमा उभ्याइएको छ ।

भण्डारी २०७२ कात्तिक ११ मा राष्ट्रपतिमा नियुक्त भएसँगै पार्टीको देखिनेगरी सक्रिय राजनीतिबाट अलग भएकी थिइन् । उनको दोस्रो कार्यकाल २०७९ फागुन २९ मा सकिएको थियो ।

राष्ट्रपतिको जिम्मेवारीबाट अलग भएपछि उनी राजनीतिक सन्देश दिने खालका खास कार्यक्रममा उपस्थित थिइनन् । यद्यपि, एमाले निकट मदन भण्डारी फाउण्डेसनले आयोजना गर्ने कार्यक्रममा उनको उपस्थिति भइरहेको थियो ।

हालै एमालेले नेकपा स्थापना दिवसको अवसरमा आयोजना गरेको हीरक महोत्सवमा पनि भण्डारी सहभागि थिइन् । तर, उक्त कार्यक्रममा भण्डारीलाई सम्मानको लागि अथितिको रुपमा बोलाइएको थियो । भण्डारीलाई एमाले मुख्यालयमै बोलाएर एमाले ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गरिएको थियो ।

आफूलाई सक्रिय राजनीतिका लागि ‘रिजर्भ’ राखेकी भण्डारीले जनसंगठनको कार्यक्रम सहभागि भएर आफूलाई खुला गरेकी छिन् । उनले आफूलाई अब सक्रिय राजनीतिमा पदापर्ण गरेको पनि महिलाको कार्यक्रममार्फत सन्देश दिएकी पनि छिन् ।

६१ वर्षीया भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएसँगै सरकारी सुविधाको घर छाडेर निजी घरमा सरेकी थिइन् । जुन निर्णयलाई राजनीतिक कोणबाट पनि हेरिएको थियो ।

उनले सार्वजनिकरुपमा पनि परिस्थितिअनुसार राजनीतिमा आउने वा नआउने भन्ने निर्णय हुने बताइरहेकी छिन् ।

पार्टी नवौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीपछि शक्तिशाली उपाध्यक्षको भूमिकामा देखिएकी भण्डारीले भित्रिरुपमा बेग्लै समूह निर्माणको कसरत गर्दै आएको चर्चा चलेको थियो । जुन चर्चा गत प्रदेश अधिवेशनहरुमा चुलिएको थियो ।

देखिएका दुई प्यानलहरुलाई भण्डारी र ओली प्यानल चर्चा गरिएको थियो । यद्यपि, भण्डारीले त्यसबारे आफूलाई खुलाएकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट