पल शाह भन्छन्- नेपाली फिल्मले फड्को मारेको महसुस गरेँ-Sutra News

पल शाह भन्छन्- नेपाली फिल्मले फड्को मारेको महसुस गरेँ

बुधबार, १६ जेष्ठ २०८१

बुधबार, १६ जेष्ठ २०८१

काठमाडौं । गत जेठ १० गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’ले ग्राण्ड ओपनिङ गरेसँगै एक सातासम्म हलमा दर्शकलाई तान्न सफल भइरहेको छ ।



यस्तैमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलगायत कलाकारहरू पालै-पालो दर्शकहरूलाई भेट्न हलहरूमा पुगिरहेका छन् ।

अझ भनौँ नायक पल शाह दर्शक भेट्न जापानसम्म पुगे । उनले जापानमा दुई हजार आफ्नो फिल्म हेर्ने दर्शकसँग साक्षत्कार गरे ।

जापानबाट फर्केपछि उनले भने, ‘१२ सय अट्ने हलमा दुई हजार दर्शकहरू आउनु भएको थियो, यति धेरै दर्शकहरू देखेर त्यहाँको स्थानीय बासिन्दासमेत अच्चममा परेर जापानको स्टार हो भनेर सोध्नु भयो ।’ उनले आफ्नो जापानको अनुभव सुनाए ।

आइतबार जापानको टोकियोमा भएको शो सम्पन्न गरेर सोमबार साँझ फर्किएका पलले हल भिजिटको क्रममा आफ्नो अनुभव सुनाए । नेपाल आएपछि पनि मंगलबार उनी हल रिपोर्टिङमा हिँडे । उनी मध्य रात पनि दर्शक भेट्न हलसम्म पुगेका थिए । त्यसो त नेपाली फिल्म मध्यरातमा प्रदर्शन हुनु दुर्लभ मानिन्छ ।

मध्यरातमा हल पुगेर आफ्नो सोसल मिडियाबाट प्रत्यक्ष प्रसारण गरेका पल निकै उत्साहित देखिए । यस क्रममा उनी दर्शकको उपस्थित देखेर नेपाली फिल्मले निकै फड्को मारेको महसुस गरेको बताएका छन् ।

“हामीले नेपाली फिल्मको शो जहिले पनि बढीमा नौ बजेसम्म हेर्थ्यौं, विदेशी डिमान्डेड फिल्महरू चाहिँ अबेर राति पनि चल्ने गरेका थिए, तर आज भने हामी हाम्रै फिल्म मध्यरात साढे १२ बजे सकिएको प्रत्यक्षदर्शी भएका छौँ,” उनले भने, “त्यसमा पनि हाउसफुल दर्शकसहित, रातिको शो देख्दा र दर्शकको उत्साह हेर्दा नेपाली फिल्मले निकै फड्को मारेको महसुस भएको छ ।”

मध्यरातमा हल पुगेका निर्देशक दिनेश राउतले आफूले निर्देशन गरेका सबै फिल्ममध्ये ‘पुजार सार्की’ बढी सफल भइसकेको बताए । मध्यरातमा समेत हल भिजिट गरेको आफ्नो पहिलो अनुभव रहेको बताउँदै उनले आफ्नो सपना पूरा भइरहँदा उत्साहित रहेको प्रतिक्रिया दिएका थिए ।

यो फिल्मले पहिलो दिनदेखि नै उच्च सङ्ख्यामा दर्शक पाइरहेको छ । हलमा दर्शकको चाप बढ्नु र बेलुकासम्मका सबै शोहरू हाउसफुल भएपछि देशभरका प्राय: हलहरूले शो थप गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट